१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारमा निलम्बित बागमतीका मेयर भरत थापासहित ६ विरुद्ध वन मुद्दा, डेढ अर्ब बिगो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

भ्रष्टाचार मुद्दामा निलम्बित सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध वन मुद्दा दायर भएको छ। वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्लाही जिल्ला अदालत मलंगवामा उनीसहित ६ जनाविरुद्ध वन मुद्दा दायर गरेको हो।

थापाविरुद्ध यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। हाल निलम्बनमा रहेका उनीविरुद्धको यो तेस्रो मुद्दा हो। 

वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिटी, बालुवा, माटो उत्खनन गरी हानीनोक्सानी गरेको कसुरमा प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरिएको हो। नेपाल सरकारको स्वीकृतिविना बागमती नगरपालिका वडा नं. ४ र १२ स्थित सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मुर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको वन क्षेत्र अतिक्रमण गरेको र नदीजन्य पदार्थको अवैध उत्खनन तथा निकासी गरेको पुष्टि भएको मुद्दाको संक्षिप्त व्यहोरामा उल्लेख छ। 

बागमती नगरपालिकाले गैरकानुनी रूपमा करिब एक सय ७३ हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण गरी बागमती माछापोखरी प्रथम र दोस्रो गरी दुईवटा ताल निर्माण गरेको थियो। यी तालको नामांकन मेयरले आफ्नै नामबाट गरेका थिए।

तालवरिपरि बाटो र अन्य संरचना निर्माणको क्रममा ठुलो परिमाणमा वन पैदावर (ढुंगा, गिटी, बालुवा, माटोलगायतका नदीजन्य पदार्थ) अवैध रूपमा उत्खनन गरी निकासी गरिएको आरोपपत्रमा उल्लेख छ। मुर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको वन क्षेत्रभित्र करिब आठ सय १५ हेक्टर वन क्षेत्र कृषि क्षेत्र, बस्ती क्षेत्र आदिका रूपमा समेत वन अतिक्रमण गरेको दाबी मन्त्रालयको छ। 

मन्त्रालयले दायर गरेको वन मुद्दामा नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लीलाकुमारी मुक्तानलाई प्रमुख प्रतिवादी कायम गरिएको छ। त्यस्तै, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ। प्रतिवादीहरूविरुद्ध एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ।

जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी पनि मुद्दाका प्रतिवादी छन्। मेयरबाहेकका प्रतिवादी पनि यसअघि भरत ताल निर्माणमा भ्रष्टाचार गरेको मुद्दाका आरोपित हुन्।