
शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरधुरीका किसानलाई सूचीकरण गरिएको छ । कृषि पेसा व्यवसायमा संलग्न किसानलाई उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचीकरण गरिएको हो ।
किसान सूचीकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचीकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए।
उनका अनुसार नगरपालिकाको– १, ११ र १२ मा किसान सूचीकरण गरिएको छ । जसअनुसार वडा नं. १ मा ४६८, वडा नं. ११ मा एक हजार २१ र वडा नं. १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरधुरीलाई सूचीकरण गरिएको छ ।
आगामी आवमा नगरपालिका– २, ३, ४, १० र ५ मा किसान सूचीकरण कार्य गरिने उनले बताए। कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचीकरण कार्य गरिएको उनको भनाइ रहेको छ ।
‘सूचीकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी वर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ,’ उनले भने, ‘सूचीकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’