
हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित कस्मिररका विद्यार्थीले भारतमा उत्पीडन र धम्कीको सामना गरेको एक विद्यार्थी संगठनले बिहीबार जनाएको छ ।
मंगलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए । सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो ।
बचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र इस्लामिक आस्थाको घोषणा दिन सक्नेहरूलाई छाडेको भारतीय मिडियाले जनाएको छ ।
यी हत्याले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारतलाई स्तब्ध पारेको छ र हिन्दु राष्ट्रवादी समूहहरूलाई आक्रोशित बनाएको छ ।
उत्तराखण्ड, उत्तर प्रदेश र हिमाचल प्रदेशलगायत राज्यमा कास्मिरी विद्यार्थीलाई बुधबार भाडाको अपार्टमेन्ट वा विश्वविद्यालयको होस्टेल छोड्न भनिएको जम्मु–कस्मिर विद्यार्थी संगठनका संयोजक नासिर खुहेमीले बताए ।
हिमाचल प्रदेशको एउटा विश्वविद्यालयमा छात्रावासको ढोका तोडेपछि विद्यार्थीलाई उत्पीडन र शारीरिक आक्रमण गरिएको खुहेमीले जानकारी दिए ।
उनका अनुसार ती विद्यार्थीलाई ‘आतंकवादी’ भनिएको थियो । ‘यो केवल सुरक्षाको मुद्दा मात्र होइन,’ उनले भने, ‘यो एक विशेष क्षेत्र र पहिचानका विद्यार्थीहरूविरुद्ध घृणा र निन्दा गर्ने जानाजानी र लक्षित अभियान हो ।’
उत्तराखण्डको राजधानी सहर देहरादुनमा दक्षिणपन्थी समूह हिन्दु रक्षा दलको चेतावनीपछि करिब २० जना विद्यार्थी बुधबार विमानस्थलतर्फ भागेका छन् ।
विद्यार्थीहरूका अनुसार समूहले कास्मिरी मुस्लिम विद्यार्थीलाई चाँडै सहर नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो ।
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै कस्मिर भारत र पाकिस्तानबिच विभाजित भएको छ । दुवै मुलुकले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दाबी गर्छन्, तर यसको अलग–अलग भागलाई शासन गर्छन् ।
विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित कस्मिरमा विद्रोह गर्दै आएका छन् ।
भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि कस्मिरमा ठुलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठुलो संख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।
बुधबार भारतले इस्लामाबादलाई ‘सीमापार आतंकवाद’लाई समर्थन गरेको आरोप लगाएको थियो र कूटनीतिक उपायहरूका साथ आफ्नो छिमेकीसँगको सम्बन्धलाई घटाएको थियो । पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ । रासस