
गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालू आर्थिक वर्षसम्म करिब ३३ हजार ७१५ धारा जडान गरिएका हुन् ।
कार्यालयको तथ्यांकअनुसार आव ०८०/८१ सम्म जिल्लाभर ३३ हजार २१५ धारा जडान गरिएकामा चालू आवमा थप पाँच सयभन्दा बढी धारा जडान भएका हुन् । यो जिल्लाको कुल लाभग्राहीमध्ये ९१.५ प्रतिशत हो । कार्यालयका सबइन्जिनियर दीपक खनालले यो कार्यक्रम लागू भएको पाँच वर्षमा उल्लेख्य प्रगति भएको बताए । ‘हाम्राे कार्यक्षेत्र गोरखा र लमजुङ हो । चालू आवमा दुवै जिल्लाका लागि ९१५ वटा धारा जडान गर्ने कार्यक्रम छ, त्यसमध्ये करिब तीन सय धारा लमजुङमा जडान भएका छन भने बाँकी गोरखामा जडान भएका छन्,’ उनले भने ।
एक घर एक धारा कार्यक्रमका लागि कार्यालयमा चालू आवमा रु. ३० करोड ३० लाख बजेट प्राप्त भएको खनालले जानकारी दिए । उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । ‘हालसम्म जिल्लाको ९१.५ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । यो तथ्यांक अन्य जिल्लाहरूको तुलनामा धेरै राम्रो हो,’ उनले भने। लमजुङमा आधारभूत खानेपानी पहुँच ८५.८८ प्रतिशत रहेको छ भने त्यहाँ हालसम्म करिब १९ हजार ४२० वटा खानेपानी धारा जडान गरिएका छन् ।
कार्यालयले धारा नभएका ठाउँमा जडान गर्ने र धारा भएका ठाउँहरूमा मर्मतसम्भारको काम गरिरहेको छ, तर पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरूमा नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतको भनाइ छ । ‘पानीको स्रोत सुनिश्चितता र मूल दर्ताको काम भने स्थानीय सरकारको हो । हाम्रो कार्यालयले आयोजना निर्माणको काम मात्र हेर्छ । सोहीअनुसार काम गरिरहेका छौँ,’ उनले भने ।
जिल्लामा आर्थिक वर्ष ०७५/७६ देखि एक घर एक धारा अभियान सुरु भएको थियो । अभियानअन्तर्गत पानीको धारा निर्माणको काम करिब सम्पन्न भए पनि मर्मतसम्भार र नयाँ आयोजनाका काम भने निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ ।