Skip This
राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबिच शिष्टाचार भेट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १० बुधबार १७:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबिच शिष्टाचार भेट

जलवायु परिवर्तनविरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १७:२६:oo

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेट गरेका छन्।

मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भेट गरेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तनविरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै स्रोतसाधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्नसमेत अनुरोध गरे।

उनले विश्व मञ्चहरूमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायु परिवर्तनबाट सिर्जित विपद्ले यहाँका दुर्लभ स्रोतसाधनलाई प्रतिकूलता प्रदान गरेको उल्लेख गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 
 
राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्समा ४ लाखभन्दा बढी नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिँदै भने, ‘संयुक्त अरब इमिरेट्स ४ लाखभन्दा बढी नेपालीहरूका लागि दोस्रो घरको रूपमा रहेको छ। उनीहरूले दुई देशबिच जनस्तरको सम्बन्ध विस्तारका लागि जीवित पुलको रूपमा पनि काम गरिरहेका छन्। तपाईंको सुन्दर देशमा यति ठुलो संख्यामा नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।’

संयुक्त अरब इमिरेट्स नेपालको चौथो ठुलो व्यापारिक साझेदार देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, ‘हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठुलो सम्भावनामा निजी क्षेत्रको संलग्नतालाई हामीहरूले प्रोत्साहित गर्नुपर्छ।’  उनले गत महिना रमजानको पवित्र महिना र इदको पर्वको पावन अवसरमा १८ जना नेपाली कैदीहरूलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरब इमिरेट्सको मैत्रीपूर्ण कदमको उच्च कदर गर्दै उक्त मानवीय कदमका लागि कृतज्ञता व्यक्त गरे।

सो अवसरमा युएईका उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाइको उच्च कदर गर्दै तथा ती भावनालाई मार्गदर्शनका रूपमा लिने बताए। ‘जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाइ भइरहेको छ। तर, यो मानव सिर्जित समस्या हो र हामीले भावी सन्ततिलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ,’ नाह्यानको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भने। 

नाह्यानले नेपाल र युएईबिच सहकार्यका धेरै सम्भावनाहरू रहेकाले यसका लागि प्रयत्नहरू जारी राख्नुपर्ने बताउँदै भने, ‘नेपाल र युएईबिचको सम्बन्धलाई उचाइमा पुर्‍याउने र प्रगाढ बनाउने प्रचुर सम्भावना छ। यसका लागि म युएई सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु।’