
नेपाल मुस्लिम इत्तेहाद संगठनको साताैँ केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगन्जमा हुँदै छ। तयारी चलिरहेको महाधिवेशन आयोजक समिति संयोजक अब्दुल करिम खानले जानकारी दिए।
इत्तेहादका केन्द्रीय कोषाध्यक्षसमेत रहेका महाधिवेशन तयारी समिति संयोजक खानले अधिवेशन तयारीका क्रममा पत्रकार सम्मेलन, मुस्लिम युवा भेला, मुस्लिम महिला भेला, विभिन्न राजनीतिक दलका मुस्लिम नेताहरूसँग छलफल, पत्रकारहरूसँग छलफल, मुस्लिम धार्मिक अगुवाहरूसँग छलफललगायतका गतिविधि गरिसकेको बताए।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले गर्ने खानले जानकारी दिए। ‘त्यसैले बाँकेका लागि आफ्ना चासोका कुराहरू राख्ने अवसर पनि हो महाधिवेशन,’ उनी भन्छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले महाधिवेशन उद्घाटनको अघिल्लो दिन वैशाख १९ गते नै प्रधानमन्त्री ओली नेपालगन्ज आइपुग्ने जानकारी दिए। ‘१९ गते नै हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रका मागबारे ज्ञापनपत्र बुझाउने र २० गते प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ,’ उनले भने।