काठमाडौं ध्वस्त हुँदै गएको हेरिरहेँ : विप्लव प्रतीक

सहर संस्मरण

२०७६ जेठ २७ सोमबार ०९:४५:००
सुनीता खनाल

काठमाडौं सहर अहिले निकै सानो भएको छ । साँघुरिएको छ । त्यो वेलामा गौशालाबाट रत्नपार्क जान पनि कहाँबाट कहाँ गएजस्तो हुन्थ्यो । भीमसेनथानतिर बस्ने मान्छे, इन्द्रचोक, असनतिर बस्ने मान्छेहरू बागबजार टुकुचाको पुलसम्म आउँदाखेरि कहाँबाट कहाँसम्म हिँडेजस्तो लाग्थ्यो । पुतलीसडकको सडक बनेको थिएन । बसहरू एकदमै कम थिए । त्यो वेलामा बाघबुट्टे ट्याक्सी थिए । मिटरमा चल्ने ती ट्याक्सीमा बाघको छाप राखिएकाले टाढैबाट योचाहिँ ट्याक्सी हो भनेर चिनिन्थ्यो । 

सडकनेर मान्छेले हिँड्ने फुटपाथ ठुल्ठूला थिए । बैजनी रङको शिरिषको फूल, जसलाई आजकाल ज्याकरन्डा भन्छन् । रत्नपार्कदेखि सहिदगेटसम्म रूखका माथि–माथि बैजनी रङ फूलेको, तल सडकमा त्यसको कार्पेट ओछ्याएजस्तो देखिन्थ्यो । सबै घर कलात्मक थिए । शान्त र गज्जबका । त्यतिवेला काठमाडाैं एकदम राम्रो थियो ।अहिले त सलाईका बट्टाजस्ता घर बनेका छन् । कलात्मक घर कतै छैनन् । सिमेन्टी र रड राखेर मात्रै घर भनिएका छन् । अहिले त यो सहर कुरूप भएको छ । न सरकारलाई त्यसको चासो छ, न महानगरपालिकालाई ।

सहरको ब्युटी कसरी जोगाउने भन्ने कुरा नै सोचिएको छैन । आर्किटेक इन्जिनियर चाहिन्छ कि चाहिँदैन त्यो ठाउँमा भन्ने कुराको ख्याल गरिएको छैन । यहाँ कर्मचारी त राखिएका छन्, तर उसले दिएको मापदण्डमा घर बन्दैनन् । सिटी त हरेक ठाउँमा डिजाइन गरिएको हुन्छ । तर, त्यसलाई साकार बनाइएको पाइँदैन । रूख टन्नै थिए त्यतिवेला । बानेश्वरदेखि चाबहिलसम्म दायाँ–बायाँ युक्लिटप्स (मसलाको रूख) रोपिएको थियो । पछि त्यो रूख सबै काटिए । रूख त देख्नै सकेनन् ।

म भीमसेनथानमा जन्मिएको हुँ । त्यही मन्दिर वरपर डुल्ने, खेल्ने गर्थेँ । त्यहाँबाट सरेर हामी सिफल गयौँ । बालमन्दिर अगाडि खेल्ने चौर थियो । त्यो चौरबाट भण्डारखालतिर छिर्न पर्दैनथ्यो । त्यो चौर नै त्यति ठूलो थियो । हामी खेल्न जाने ठाउँ भनेको बागमती, विष्णुमती र धोबीखोला थियो । त्यही खोलाकै पानी पिउँथे मान्छेहरू । पानी सफा थियो । तर, हामीचाहिँ धाराको नै पानी पिउँथ्यौ । 

साथीभाइ जम्मा भएर कहिले गुच्चा, कहिले डन्डीबियो खेल्न जान्थ्यौँ । बिहान खाना खाएर हराएर एकैचोटी बेलुका खान आइपुगिन्थ्यो । कहिले एयरपोर्ट पुगिन्थ्यो । प्लेन माथिबाट आएको देखेपछि त्यो तल नझरुन्जेलसम्म हामी हेरिरहन्थ्यौँ । आफ्नैछेउबाट प्लेन जान्थ्यो । न कसैले रोक्थ्यो, न कुनै नियम थियो । काँडाघारीका मान्छे त्यही एयरपोर्टबाटै क्रस गरेर गौशालातिर आउँथे । 

अहिलेका काठमाडाैंका बच्चाबच्चीलाई खेल्न जाने ठाउँ त कतै छँदै छैन । छोराछोरी आइप्याड र मोबाइल चलाइरहँदा त्यसैमा दंग छन् बाबुआमा । त्यसको रेडिएसनले बच्चाको शरीरमा केही असर पार्छ कि, केही मतलब छैन । जंकफुड खुवाइदिन्छन् । त्यतिवेलाको खाजा त मकै–भटमास, साँधेको मूलाको साग हुन्थ्यो । यो फरक ठाउँ होइन, नेपाल नै हो । त्यसैले पनि गाउँघरजस्तै थियो । अहिले जति पनि घर देखिएका छन् त्यहाँ पहिला पूरै खाली फाँट थिए । जग्गा सस्तो थियो । 

काठमाडौंका  राम्रा पक्ष सबै मिलेर मासिइसके । बचेका केही, वसन्तपुरजस्ता ठाउँमा पनि पायो भने सपिङ मल खोल्दिन बेर छैन । हरेक कुरा एउटा साइकल हो । जसरी यो सहर कुरूप भयो, त्यसरी नै यो सुन्दर हुने दिन पनि आउँछजस्तो मलाई लाग्छ । 

म कोठामा बसेर मोजाहटको संगीत सुन्दै, मधुरो लाइटमा पिउन मज्जा मान्दथेँ । त्यसबाहेक जानैपर्दाचाहिँ स्वयम्भूको डाँडा, बौद्ध, एयरपोर्टमुनिको डाँडाजस्ता ठाउँमा जान्थेँ म । त्यस वेलामा डेटिङ गर्न सुन्दरीजल नै जानुप-थ्यो । यो भ्यालीमा कोही एउटी राम्री केटी छ भने त्यो केटीलाई नचिन्ने मान्छे नै हुँदैनथ्यो । कोही केटा अलि ट्यालेन्ट छ भने त्यसलाई नचिन्ने मान्छे नै हुँदैनथे । बौद्धमा भेटेर, जोरपाटीको बस चढेर सुन्दरीजल पुग्नुपथ्र्याे । 

म मायालु छु, वा निष्ठुरी छु । सज्जन छु वा दुर्जन छु, त्यो मान्छे त मलाई यही सहरले नै बनाएको हो । तर, यो काठमाडौंलाई मैले केही पनि दिन सकिनँ । काठमाडौं ध्वस्त हुँदै गइरहेको हेरेर म बसिरहेँ । गर्न सकिनँ भनेर पछुतो मानेर पनि केही हुन्न । मजस्ता मान्छेले काठमाडौंलाई केही दिएको छु भने कविता नै दिएको छु । समग्रमा काठमाडौंले मलाई कविता दियो । मैले काठमाडौंलाई कविता नै दिएँ । हिसाब–किताब बराबर भयो ।


काठमाडांैका राम्रा पक्ष सबै मिलेर मासिसके । बचेका केही, वसन्तपुरजस्ता ठाउँमा पनि पायो भने सपिङ मल खोल्दिन बेर छैन । हरेक कुरा एउटा साइकल हो । जसरी यो सहर कुरूप भयो, त्यसरी नै यो सुन्दर हुने दिन पनि आउँछजस्तो मलाई लाग्छ । बिस्तारै मान्छेहरूमा चेत आएर हामीले यसरी बनाउनुपर्ने रहेछ भनेमा त्यो सम्भव छ । एकले अर्कोलाई रेस्पेक्ट गर्नुपर्छ भन्ने शिक्षा र चरित्रको विकास यहाँ बस्ने मान्छेहरूमा भयो भने आउने दश वर्षमा यो सहर सुन्दर हुनेछ ।