Skip This
एक प्रति मात्र पत्रिका निकालेर ठेक्काको सूचनामा गोलमाल : मधेश प्रेस काउन्सिलका अध्यक्ष र निमित्त प्रशासकीयविरुद्ध मुद्दा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
Invalid date format १६:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक प्रति मात्र पत्रिका निकालेर ठेक्काको सूचनामा गोलमाल : मधेश प्रेस काउन्सिलका अध्यक्ष र निमित्त प्रशासकीयविरुद्ध मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

ठेक्काको सार्वजनिक सूचना जारी गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्दै त्यसमा संलग्नविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 

बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारी तथा केएस मल्टिपर्पोज प्रालि र त्यसका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध अख्तियारले मुद्दा चलाएको हो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत यावद र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन भएका दुई ठेक्काको बोलपत्र आह्वानको सूचना निकाल्ने निर्णय गरेका थिए । यस्तो सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर, ऐनविपरीत सूचना प्रकाशित गर्ने क्रममा मिलेमतो भएको अख्तियारको आरोपत्रमा उल्लेख छ । 

केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्यायसमेतको मिलेमतोमा नगरपालिकाको ठेक्काको अभिलेखमा राख्ने प्रयोजनार्थ मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ । 

त्यही बोलपत्र आह्वानको सूचना प्रकाशित भएको एक प्रति मात्र पत्रिका नगरपालिकामा पेस गर्न लगाइएको थियो । झुट्टा विवरणसहितको पत्रिकाको आधारमा तीन लाख ५२ हजार ५६० रुपैयाँ केएस मल्टिपर्पोज प्रालिलाई भुक्तानी दिइयो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको भन्दै अख्तियारले दुवैलाई भुक्तानी दिएको रकमलाई नै बिगो कायम गरेर मुद्दाको प्रतिवादी कायम गरेको छ । 

अख्तियारले केएस मल्टिपर्पोज प्रालि र त्यस कम्पनीका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध पनि मुद्दा दायर गरेको छ । ठेक्काहरूको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी एक प्रति मात्र प्रभाव दैनिकमा प्रकाशित गरी भुक्तानी लिएको आरोप यादव र कम्पनीमाथि अख्तियारको छ ।

कसुरजन्य कार्यको गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । उपाध्याय र कम्पनी केएस मल्टिपर्पोज प्रालिलाई पनि मुख्य प्रतिवादीसरह सजायको मागदाबी गर्दै अख्तियारले तीन लाख ५२ हजार ५६० रुपैयाँ नै बिगो कायम गरेको छ । 

मुद्दाको प्रतिवादी केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष उपाध्यायलाई मधेश प्रदेशको मन्त्रिपरिषद् बैठकले आइतबार मात्र मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उपाध्यायले सोमबार नियुक्ति बुझेर शपथ तथा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेको दोस्रो दिनमै भ्रष्टाचार मुद्दा दायर भएपछि उनी स्वतः निलम्बनमा परेका छन् ।