१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यका विकास प्राधिकरणको करारका कर्मचारीको तीन करोड २९ लाख गैरकानुनी सम्पत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३७:oo

काठमाडौं उपत्यका विकास प्राधिकरणमा करारमा कार्यरत् कर्मचारीको तीन करोड २९ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति भेटिएको छ। स्रोत नखुलेको गैरकानुनी सम्पत्ति भेटिएपछि प्राधिकरणको काठमाडौं जिल्ला आयुक्तको कार्यालयद्वारा संचालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा कार्यरत् अमिन दिनेश प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यादव करारमा सेवा प्रवेश गरेको मिति ८ भदौ ०६३ देखि ३० असार ०८१ सम्मको अवधिको आम्दानी र खर्चको अख्तियारले लेखाजोखा र हिसाब गरेको थियो। जाँच अवधिमा उनले तलबी पारिश्रमिक आय, भत्ता, नागरिक लगानी कोषबाट फिर्ता आएको रकम, आवास कर्जा, कृषि आय, गाडी, घर र जग्गा बिक्रीबाट प्राप्त रकम, सापटी लिएको तथा पत्नीसहित प्राप्त गरेको बैंकको ब्याज रकमसमेतबाट वैध आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ। यो वैध आय दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ।

परीक्षण अवधिमा यादवले गरेको खर्चको हिसाब पनि अख्तियारले गरेको छ। त्यसमा आवास कर्जा तिरेको रकम, गरगहना खरिद, घर निर्माण, जग्गा खरिद, बैंक मौज्दात, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, ऋण सापटी तिरेको, सापटी दिएको, सामाजिक खर्च र पुँजीगत लाभकर तिरेको रकमका शीर्षक छन्। यी सबै शीर्षकमा गरेर कुल पाँच करोड ७१ लाख ६६ हजार रुपैयाँ खर्च देखिएको छ।

कूल आय रकममा कुल व्यय रकम घटाउँदा आउने तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँको गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको दावी छ। सोही रकमलाई बिगो कायम गरेर अख्तियारले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यादवले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे÷बढाएको सम्पत्ति पत्नी अमृता कुमारी यादवको नाममा राखेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यादवबाट विगो जफत प्रयोजनका लागि अख्तियारले पत्नी अमृतालाई पनि प्रतिवादी कायम गरेको छ।