१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format ११:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यौन दुर्व्यवहारमा परेकी पीडित मृत फेला प्रकरण : मधेश प्रदेश प्रहरी कार्यालयले गर्‍यो तीन सदस्यीय छानबिन समिति गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o९:oo

यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया आनन्दीदेवी सदाय घरभित्रै मृत भेटिएको घटना प्रकरणमा मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति  गठन गरेको छ ।  मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी निरीक्षक विक्रम शाह र एकजना प्रहरी सहायक हवल्दार सदस्य छन्। समितिले बिहीबारदेखि नै काम थालिसकेको जानकारी दिँदै उनले यौन दुर्व्यवहारपीडितले दिएको जाहेरी ढिलो दर्ता गरिएको, घटनासँग सम्बन्धित अन्य पक्ष र  स्थानीय प्रहरीको भूमिकाको विषयमा छानबिन गरिनेछ । 

‘घटनापछि प्रहरीले जाहेरी दर्ता गर्न ढिलाइ गरेको कुरा पनि मिडियमा आएका छन्,’ उनले भने, ‘छानबिन समितिले त्यो पाटोसहित घाउजाँच केस, मेडकिल रिपाेर्टसहितका विषयको मिहिन छानबिन गर्नेछ,’ उनले भने, ‘समितिले उक्त घटनामा दोषी औँल्याएका प्रहरी भए पनि कारबाही हुन्छ ।’ त्यसबाहेक यौन दुर्व्यवहारका घटनामा संलग्न स्थानीय दुई युवकको जिल्ला प्रहरीसहित स्थानीय प्रहरी युनिटले खोजी गरिरहेकाले पक्राउ परेलगत्तै कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए । 

आनन्दीदेवी मृत्यु प्रकरण घटनाको छानबिन समितिका संयोजक रहेका एसएसपी कोइराला गत २७ माघमा सामूहिक बलात्कारपछि शंकास्पद अवस्थामा मृत झुन्डिएको भेटिएकी नवराजपुर– १ भगवतीपुरकी करिब १७ वर्षीया रिंकु सदायको घटनाको पनि छानबिन समिति संयोजक थिए । नयाँ पत्रिकाको बुधबारको अंकमा ‘मृत भेटिइन् यौन दुर्व्यवहारमा परेकी पीडित’ शीर्षकमा समाचार प्रकाशन भएपछि गृहमन्त्री रमेश लेखकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापालाई फोनमार्फत तत्काल घटनाको यथार्थ छानबिन गरी दोषी पत्ता लगाउन निर्देशन दिएको भोलिपल्ट प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको हो । 

गत ९ पुसको बिहान करिब ११ बजेतिर छिमेकी बरियारपट्टि गाउँपालिका– १ कचनारी नरगीस्थित दिदी लक्ष्मीनिया सदायको घर जाने क्रममा गाउँनजिकै आनन्दीदेवी यौन दुर्व्यवहारमा परेकी थिइन्। नवराजपुर– ३ जगतपुर गाउँका अविवाहित सञ्जीवकुमार यादव र दुई छोराछोरीका बाबु श्यामसुन्दर यादवले स्थानीय हरिनारायण यादवको बगैँचानजिक घेरा हालेर परालको टालनजिक पुर्‍याई लडाएर हातपातसहित लुगासमेत च्यात्दै बलात्कार प्रयास गरेका थिए। 

त्यही दिन माइतीमै रहेका श्रीमान् उमेश सदायसहित महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयमा उनकी आमा बिलटौनदेवीले दुईजनाविरुद्ध जबर्जस्ती करणी उद्योग कसुरमा जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीले उक्त जाहेरी २५ दिनपछि ४ माघमा दर्ता नं. ४० मा दर्ता भयो भन्ने पुर्जी दिएर पठाएलगत्तै पुनः बोलाएर जाहेरी गडबड रहेछ भन्दै खोसेर च्यातिदिएको पीडित परिवारले जनाएको छ । त्यसपछि प्रहरीले सोही जाहेरी दुई महिना १६ दिनपछि गत २५ फागुनमा दर्ता गरी अनुसन्धान गरिहेको बताए पनि मुख्य दुई आरोपी पक्राउ परेका छैनन्। 

त्यसबिचमा आरोपी सञ्जीवका बाबु उपेन्द्र यादव, श्यामसुन्दरका बाबु शिवदत्त यादव, उनका आफन्तसमेत रहेका स्थानीय दलित उत्पीडित जनजाति आधारभूत विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक नरेन्द्र यादवलगायतले एक लाख रुपैयाँमा मिलापत्र गरी जाहेरी फिर्ता लिन दबाब दिँदै आएको पीडित परिवारले गुनासो गरेको छ । मुद्दा हेर्ने महेशपुर पतारी प्रहरीबाट दुई–तीनपटक गाउँमा आएका प्रहरीले समेत मुद्दा लड्न सक्दैनौ, मिलापत्र गर्न भन्दै दबाब दिएको उनीहरूको गुनासो छ ।