
०६२/६३ मा भएको जनआन्दोलनको बलमा ०६३ वैशाख ११ मा राजसंस्था ढल्यो । सोही आन्दोलनको बलमा नेपाली जनताले राजाको प्रत्यक्ष शासनलाई ढालेर लोकतन्त्र स्थापना गरेका थिए । ०६२ चैत २४ गतेदेखि ०६३ वैशाख ११ गतेसम्म भएको जनआन्दोलनको क्रममा ०६३ वैशाख ४ गते सहादत भएका बारा निजगढ नगरपालिका– ५ का हिरालाल गौतमको १९औँ स्मृति दिवस मनाइएको छ ।
गौतमको १९औँ स्मृति दिवसको अवसरमा बिहीबार निजगढ नगरपालिका– ४ मा उनको नामबाट नामकरण गरिएको सहिद हिरालाल पार्कमा नेकपा एमाले निजगढ नगर कमिटीको आयोजनामा स्मृति दिवस मनाइएको हो । निजगढ नगरपालिकाका नगरप्रमुख एवं नेकपा एमाले निजगढ नगर कमिटीका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा भएको भएको सो कार्यक्रममा सहभागीहरूले पार्कमा रहेको गौतमको सालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा उपस्थितहरूले सहिद हिरालाल गौतमको योगदानबारे चर्चा गरेका थिए । उनीहरूले देशका निम्ति सहादत भएका सहिदहरूको सपनालाई सकार बनाउँदै सहिदले देखाएको बाटोलाई भुल्न नहुने बताएका थिए । कार्यक्रममा नगरप्रमुख पुरीले ०६२/६३ को जनआन्दोलनको औचित्यबारे पछिल्लो पुस्तालाई केही समूहले जबर्जस्त नकारात्मकताको भ्रम फैलाउने काम भएको उल्लेख गर्दै सचेत जनताले सधैँ खबरदारी गर्दै सहिदको सपना पूरा गर्न एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहिद पिता षडानन्द गौतम, सहिदपत्नी गायत्री गौतम, नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज लीलादेवी लामिछाने खनाल, प्रदेश कमिटी सदस्य सुदर्शनप्रसाद कोइराला, अम्बिकाप्रसाद चौलागाईं, नगर उपप्रमुख सोममाया थिङलगायतका नेता–कार्यकर्ताहरू एवं सहिद परिवारका सदस्यहरूको सहभागिता रहेको थियो ।