
राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ वैशाखमा काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकले त्यस्तो निर्णय गरेको हो ।
९ वैशाखमा ७७ वटै जिल्लामा विरोधसभा र धर्ना कार्यक्रम गरिने उसले जनाएको छ । राजसंस्था पुनर्स्थापनाको मागसहित १५ चैतको प्रदर्शनमा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइको मागसहित राप्रपाले प्रदर्शनको कार्यक्रम घोषणा गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले संविधानको मौलिक अधिकार संकुचित बनाएकाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको बताए । ‘सरकारले शान्तिपूर्ण भेला हुन पाउने, प्रदर्शन गर्न पाउने मौलिक अधिकारलाई वञ्चित गरेर निषेधित क्षेत्र तोकी संकुचित बनाउँदै लगेकाले निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरिएको छ,’ उनले भने ।
त्यसबिचमै विशेष समितिले आन्दोलनका अरू कार्यक्रम पनि घोषणा गर्ने उनले बताए । लिङ्देनले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै थुनिन पनि तयार रहेको बताए ।