१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o८:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शिक्षाको गुणस्तर बढाउँदै विद्यालय नर्स कार्यक्रम

बागमती प्रदेशका आठ सयभन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमले बागमती प्रदेशमा शिक्षाको गुणस्तरमा सहयोग पुर्‍याउन प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमका कारण हाल बागमतीका आठ सयभन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स कार्यक्रम राखिएको हो । बागमती प्रदेशका ८४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । 

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमतीका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ । किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले ०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । नागरिकमा सकारात्मक र प्रभावकारी बनाउने गरी प्रदेश सरकारले ६ वर्षअघि सुरु गरेको कार्यक्रम हाल ६२ प्रतिशत विद्यालयमा पुगेको छ ।

एक हजार ३६२ माध्यमिक तहका विद्यालयमध्ये प्रदेशको सबैभन्दा बढी विद्यालय रहेको काठमाडौंमा १७९ विद्यालयमध्ये १०८ वटामा यो कार्यक्रम लागू भइसकेको छ । यस्तै, सबैभन्दा कम विद्यालय रहेको रसुवामा १९ माध्यमिकमध्ये १८ वटा विद्यालयमा कार्यक्रम लागू भएको छ । भक्तपुरको ४५ मध्ये २५, चितवनको १०८ मध्ये ७६, धादिङको १३६ मध्ये ७९, दोलखाको ८४ मध्ये ६४, काभ्रेको १४६ मध्ये ८२, ललितपुरको ७८ मध्ये ५४, मकवानपुरको १०० मध्ये ६२, नुवाकोटको १२२ मध्ये ७६, रामेछापको ८८ मध्ये ५१, सिन्धुलीको १२२ मध्ये ८० र सिुन्धुपाल्चोकको १३५ मध्ये ७६ विद्यालयमा नर्स सेवा सञ्चालनमा रहेको छ ।

विद्यालय छोड्ने तथा कक्षा छुटाउने समस्या कम हुँदै
‘एक विद्यालय एक नर्स’ कार्यक्रमले विद्यार्थीहरूले विद्यालय छोड्ने तथा कक्षा छुटाउने समस्या निकै कम देखिएको छ । हेटौँडा उपमहानगरपालिका–१७ की शीतल अमगाईं हरेक दिन विद्यार्थीका स्वास्थ्यसँग सम्बन्धित समस्या समाधान गर्न व्यस्त हुन्छिन् । विद्यालयले उपलब्ध गराएको एउटा कोठामा दुईवटा शड्ढयाको व्यवस्था गरिएको छ । कोठाको भित्ताभरि स्वास्थ्य र विभिन्न रोगबाट बच्ने उपायका सचेतनामूलक पोस्टर टाँसिएका छन् । विद्यार्थीहरूको सामान्य स्वास्थ्य सेवा, उपचार तथा परामर्श उनको हरेक दिनको व्यस्तता हो ।

करिब दुई वर्षदेखि हेटौँडा—१८ स्थित गोरक्षनाथ माध्यमिक विद्यालयमा नर्सको जिम्मेवारीमा रहेर काम गर्दै आएकी अमगाईंसमक्ष दैनिक रूपमा विद्यार्थी केही न केही समस्या बोकेर आइपुग्छन् । विद्यार्थीहरूलाई साधारण उपचार र परामर्श उनको दैनिकी हो । अमगाईंका अनुसार विगतमा सामान्य बिरामी हुँदा पनि विद्यार्थीलाई घर पठाइन्थ्यो । तर, अहिले नर्सको कक्षमा पठाइन्छ । केही समययता विद्यार्थीलाई सामान्य स्वास्थ्य समस्याका कारण घर पठाउने अवस्थाको अन्त्य भएको उनी बताउँछिन् । विद्यार्थीहरू विशेष गरी महिनावारी, ज्वरो, एलर्जी, ग्यास्ट्रिक, पेट दुखाइलगायतका समस्या बोकेर आउने गरेको उनले बताइन् ।

नर्स अमगाईंले विद्यालयमा पोषणसम्बन्धी अभिमुखीकरण, सरसफाइ कसरी गर्ने भनेर सिकाउने, समुदायमा गएर डेंगु रोगबाट बच्न सचेतनाजस्ता अभ्यासको काम गरिरहेकी छिन् । समय–समयमा आइरनचक्की खुवाउने र खोप लगाउन आफू खटिने गरेको उनको भनाइ छ । विद्यार्थीले मात्र नभई शिक्षक तथा अभिभावकहरूले पनि स्वास्थ्य परीक्षण गराउने गरेको उनी सुनाउँछिन् । दैनिक १० देखि ११ जना विद्यार्थी स्वास्थ्य समस्या बोकेर आउने गरेको उनको अनुभव छ ।