
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अब फागुनमा हुने भएको छ । गत असोजमा सम्पन्न राष्ट्रिय भेलाले महाधिवेशन २५–२७ वैशाखमा गर्ने निर्णय गरेको थियो । बिहीबार बसेको केन्द्रीय समिति बैठकले तयारी नपुगेको भन्दै आगामी ७–९ फागुनका लागि महाधिवेशन सारेको हो । सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने थुनामा गएपछि महाधिवेशनको मिति पछि धकेलिएको हो ।
७ असार ०७९ मा स्थापना भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन फागुन पहिलो साता चितवनमा हुने कार्यवाहक प्रवक्ता मनीष झाले बताए । महाधिवेशनको नयाँ मिति तोकेको केन्द्रीय समितिले क्यालेन्डर पनि तयार गरेको छ । निर्धारित क्यालेन्डरअनुसार पार्टीले असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मंसिरसम्म जिल्ला अधिवेशन, १५ माघसम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने झाले बताए ।
झाका अनुसार पार्टीको एक हजार ९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये सात सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ । ७५३ पालिकामध्ये ४५८ पालिकामा समिति गठन भइसकेको छ । ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातै प्रदेशमा समिति गठन भएको छ ।
केन्द्रीय समितिले पार्टीको प्रादेशिक समिति र मातहतका पार्टी संरचनालाई अझै सशक्त बनाउन प्रदेश इन्चार्ज तोकेको छ । रास्वपाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिनकुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल इन्चार्ज तोकिएका छन् ।
बैठकमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको ‘ब्लु प्रिन्ट’बारे खाका प्रस्तुत गर्दै त्यसको उद्देश्य, सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र आयोगको कटौती र सार्वजनिक सेवामा सुधारको व्याख्यासमेत प्रस्तुत गरेका थिए । बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको ‘जनयात्रा अभियान’को कार्यविधि सर्वसम्मतले पारित गरेको छ ।
बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठले आफूले पदबाट दिएको राजीनामापत्र सभापति रवि लामिछानेलाई बुझाएको केन्द्रीय समितिलाई जानकारी गराएकी थिइन् । उनले पार्टी सभापतिसँग सल्लाह गरेर ‘एक व्यक्ति एक पद’ अवधारणा अनुसरण गर्दै राजीनामा दिएको र सभापतिले सहज रूपमा लिएको उल्लेख गरेकी थिइन् । बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा अगाडि बढाइने प्रतिबद्धता जनाए ।
रास्वपा केन्द्रीय समितिले शिक्षा विधेयकमा सशक्त भूमिका खेल्न संसदीय दललाई निर्देशन दिएको छ । लामो समयदेखि चाँडै शिक्षा विधेयक ल्याइयोस् भनेर आन्दोलनमा र १६ गतेदेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्न १२ वैशाखदेखि सुरु हुने बजेट अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको प्रवक्ता मनीष झाले बताए । केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थकको अराजक उपस्थितिप्रति ध्यानाकर्षण गराएका थिए ।