१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ५ शुक्रबार o७:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग : चितवन पहिलोपटक प्ले अफमा, काठमाडौं बाहिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार o७:oo:oo
  • धनगढीलाई ३–१ ले हराउँदै चितवन पहिलोपटक शीर्ष चारमा, यो जितले पहिलो संस्करणको विजेता काठमाडौं पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो

एफसी चितवनले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पहिलोपटक स्थान सुरक्षित गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको शीर्ष चारमा पुग्ने अन्तिम टोली टुंगो लाग्ने प्रतिस्पर्धामा चितवनले दुईपटकको साबिक उपविजेता धनगढी एफसीमाथि ३–१ को सानदार जित निकालेको हो । चितवनको जितसँगै पहिलो संस्करणको विजेता काठमाडौं रेन्जर्स पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । यस नतिजासँगै यसपटकको एनएसएलका शीर्ष चार टोलीको छिनोफानो भएको छ ।

अब पहिलो क्वालिफायरमा साबिक विजेता ललितपुर सिटीले धनगढीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । चौथो स्थानको पोखरा थन्डर्सले चितवनविरुद्ध दोस्रो क्वालिफायर खेल खेल्नेछ । यस खेलको विजेता पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नेछ । 

पहिलोपटक प्ले अफमा स्थान बनाउन चितवनलाई जित वा बराबरीबाहेक विकल्प थिएन । धनगढीलाई यस नतिजाले केही असर गर्दैनथ्यो । यसकारण ललितपुरविरुद्धको महत्वपूर्ण खेलमा भिड्नुअघि धनगढीले चितवनसँगको खेलमा नियमित खेलाडीलाई विश्राममा राखी दोस्रो रोजाइका आठ खेलाडीलाई सुरुवातमै मैदानमा उतारेको थियो । यसको फाइदा उठाएर चितवनले शीर्ष चारभित्र आफूलाई समावेश गर्‍यो । 

गोलअन्तरमा काठमाडौं पछि 
सानदार जितसँगै चितवनले १० अंक बनायो । चितवनले तीन जित एक बराबरी र दुई हार नतिजा निकालेको छ । पहिलो संस्करणमा चितवन लिगको पुछारमा थियो । दोस्रो संस्करणको एनएसएलमा नौ टोली सहभागी हुँदा चितवन सातौँ स्थानमा रह्यो । शीर्ष स्थानमा रहेको ललितपुरले अपराजित रहँदै १२ अंक बनायो । पहिलो हार सामना गरेको धनगढी ११ अंकका साथ दोस्रो स्थानमा छ । लिगको चौथो स्थानमा रहेको पोखराको ८ अंक छ । ८ अंक नै बटुले पनि काठमाडौं गोल अन्तरले पछि पर्दै बाहिरिएको हो । लिगमा झापाले ५ अंक जोड्यो । झापाले पाँच खेलमा गोलरहित बराबरी निकालेको छ । यसपटक बुटवल लुम्बिनी जितविहीन भयो । लुम्बिनीले एक ड्र खेली १ अंक बनाएको छ । चितवन र धनगढीबिचको खेल भइरहँदा काठमाडौंका समर्थकले अन्तिम समयसम्म नतिजाको प्रतीक्षा गरेका थिए । सुरुवातमै धनगढीले गोल गर्दा काठमाडौंका समर्थक खुसी बनेका थिए । त्यसपछि चितवनले उत्कृष्ट पुनरागमन गरी तीन गोल गर्दा पहिलो संस्करणको विजेता निराश बन्यो । 

चितवन र धनगढीबिचको प्रतिस्पर्धामा कप्तानी विदेशी खेलाडीले गरेका थिए । धनगढीका आफिज ओलावला र चितवनका दोदिरले कप्तानी गरेका थिए । चितवनका नियमित कप्तान अञ्जन विष्ट सुरुवातमा बेन्चमा रहे । 

निर्धारित समयमा रोबर्टो कार्लोस नआउने 
सन् २००२ को विश्वकप विजेता ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोस निर्धारित समयमा नेपाल नआउने भएका छन् । कार्लोसले एनएसएल लिग हेर्न शुक्रबार (५ वैशाख)मा नेपाल आउने बताएका थिए । तर, अप्रत्याशित परिस्थिति र अचानक स्वास्थ्यमा आएको समस्याका कारण उनी पूर्वनिर्धारित समयमा आउन नसक्ने आयोजक एनएसएलले जानकारी गराएको छ । आयोजक ब्राजिलियन लिजेन्ड कार्लोसलाई फाइनलसम्म ल्याउने तयारी भइरहेको र यसका लागि वार्ता भइरहेको आयोजकको विज्ञप्तिमा उल्लेख छ । ‘सम्भव भएसम्म एनएसएलको फाइनलका लागि रोबर्टो नेपाल आउने गरी समन्वय गरिरहेका छौँ,’ आयोजकले जनायो, ‘सबै प्रशंसकलाई आश्वस्त पार्न चाहन्छौँ– रोबर्टो कार्लोसले निश्चित रूपमा नेपालको यात्रा गर्नेछन् र फाइनलअघि एनएसएलमा भाग लिनेछन् ।