
सिइसी काठमाडौं र गण्डकी हिरोज क्रिकेट क्लब पोखरामा जारी केपी ओली कप टी–२० राष्ट्रिय पुरुष खुला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनलको खेलमा जित हात पार्दै दुई टोली उपाधिनजिक पुगेका हुन्।
पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’को विजेता सिइसी काठमाडौंले समूह ‘सी’को विजेता हिमाल फ्रेन्ड्स क्रिकेट क्लबलाई १० रनले हराएको हो। दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि टस गराइएको समूह ‘बी’को विजेता गण्डकीले समूह ‘डी’को विजेता अत्तरिया क्रिकेट एकेडेमीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो।
लगातारको वर्षाका कारण पहिलो खेल समयमा सुरु हुन नसकेपछि २० ओभरबाट घटाएर ५ ओभरमा खेलाइएको थियो। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिइसी काठमाडौंले निर्धारित ५ ओभर खेल्दै १ विकेट गुमाएर ५७ रनको योगफल तयार गरेको थियो। ५८ रनको लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले जवाफी ब्याटिङका क्रममा ५ ओभर खेल्दै ३ विकेट गुमाएर जम्मा ४७ रनमा सीमित हुन पुग्यो।
सिइसी काठमाडौंका लागि ओपनर रीत गौतमले १७ बलमा ४ चौका प्रहार गर्दै २८ रन जोडेर रिटायर्ड आउट भए। अर्जुन घर्तीले ५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १३ तथा दीपेन्द्र गौतमले ८ रन बनाएका थिए।
हिमाल फ्रेन्ड्सका लागि ओपनर सुवोध ऐरी ८ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाएर आउट भए। आशिष तिरुवाले ३ बलमा २ छक्कासहित १३ र अभिनाश सिंहले १२ बलमा १ चौकासहित १२ रन बनाए।
खेलमा काठमाडौंका लागि मनोज यादवले २ ओभर खेल्दै ८ रन खर्चेर २ विकेट हात पार्दा युनिश विक्रमसिंह ठकुरीले १ विकेट हात पारे।
यसैगरी, गण्डकी र अत्तरियाबिचको दोस्रो सोमिफाइनल खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टसमार्फत विजेता चयन गरिएको थियो। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा पुनः वर्षा भएपछि खेल रोकिन पुगेपछि टस गर्दा गण्डकी विजयी भएको हो।
अत्तरियाका लागि ओपनर अभिषेक पलले १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोड्दा अर्का ओपनर विपिन रावलले ३३ बलमा १२ चौका र २ छक्कासहित ७२ रनका साथ उत्कृष्ट प्रर्दशन गरे। खगेन्द्र जोशीले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० र टेक रावत १० रनमा नटआउट रहँदा निश्चल क्षेत्री ९ रनमा नटआउट रहे।
खेलमा गण्डकीका मिलन बोहोराले ३.३ ओभर खेल्दै २९ रन खर्चेर ३ विकेट हात पार्दा नारायण जोशीले १ विकेट हात पारे।