
सभामुख देवराज घिमिरेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएर फरार कांग्रेस सांसद माया राईको स्थान रिक्तताको सूचना टाँस्न विलम्ब गरेका छन् । सांसद राई १८ माघदेखि १९ चैतसम्म चलेको संसद्को हिउँदे अधिवेशनमा सदनलाई सूचना नदिई लगातार २७ बैठकमा अनुपस्थित रहिन् । पद जोगाउन अधिवेशन अन्त्य भएपछि २० चैतमा कांग्रेस प्रमुख सचेतकका स्वकीय सचिवले सूचना बुझाएका थिए । म्याद गुजारेर आएको सूचनालाई सभामुख घिमिरेले बुझेका छन् । तर, संविधान उल्लंघन भएको भनेर स्थान रिक्तताको सूचना टाँसेका छैनन् ।
संविधानको धारा ८९(घ) मा संघीय संसद्को सदस्य सम्बन्धित सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा स्थान रिक्त हुने भनिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम २१३ मा अस्वस्थ वा काबुबाहिरको परिस्थितिमा लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भएमा अग्रिम सूचना सभामुखमार्फत सदनलाई दिनुपर्ने भनिएको छ । तर, सूचना नै नदिई २७ वटा बैठकमा अनुपस्थित राईको स्थान रिक्तताको सूचना टाँस्न सभामुख घिमिरेले आनाकानी गरेका छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा कांग्रेस सांसद राई साढे ६ महिनादेखि फरार छिन् ।
सभामुख घिमिरेले नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारीको १६ करोड ६९ लाख अपचलनमा एक वर्षदेखि फरार राप्रपा सांसद गीता बस्नेतको भने पद जोगाइदिएका छन् । बस्नेतको बिदा सूचना २७औँ दिनमा राप्रपा प्रमुख सचेतकले सभामुखलाई दिएका थिए। संविधान र नियमावलीविपरीत उक्त सूचना बुझेर सभामुखले अधिवेशनको अन्तिम दिन सभाबाट स्वीकृत गराई पद जोगाइदिएका थिए । जसको संसदभित्रै विरोध भएको थियो।