१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o९:३३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारी विद्यालयको जग्गामा नौ वर्षदेखि निजी विद्यालय सञ्चालन

विद्यालय हटाउन पटक–पटक पत्र लेखे पनि दमक नगरपालिकाले गरेन कार्यान्वयन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३३:oo

झापाको दमक नगरपालिका– ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयको नाममा रहेको जग्गा अतिक्रमण भएको पाइएको छ । दमक– ८ मा सरस्वती माविको नाममा रहेको करिब १३ बिघा जग्गामा निजी विद्यालय, वडा कार्यालय, प्रदेश सरकारले बनाएको अर्गानिक तरकारी बजार तथा निजी घरसमेत बनेको पाइएको हो । 

सामुदायिक विद्यालयको नाममा रहेको जग्गामा गडमदर एकेडेमी एन्ड टेक्नोलोजी नामक निजी विद्यालयसमेत सञ्चालन भइरहेको छ । सुरुवातमा यो विद्यालयले सरस्वती माविसँग सम्झौता गरेर विद्यालय सञ्चालन गरिरहेको थियो । तर, ०७३ मा पाँचवर्षे सम्झौता सकिएपछि सरस्वती माविले सम्झौता गरेको छैन । उसले ०७३ देखि नै अनधिकृत रूपमा सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिरहेको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवतराज पुरीले बताए । सरस्वती माविले निजी विद्यालय त्यहाँबाट हटाउन दमक नगरपालिकालाई पटक–पटक पत्र लेखे पनि सुनुवाइ हुन नसकेको उनले बताए । 

‘सरकारी विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिनु अवैध हो । यहाँबाट भाडा पनि आएको छैन । हटाउनका लागि पटक–पटक नगरपालिकालाई आग्रह गर्‍यौँ, तर नगरपालिकाले हटाइदिएन,’ उनले भने, ‘गत वर्ष कार्यपालिका बैठकले हटाउने निर्णय त गर्‍यो, तर शैक्षिक सत्रको बिचमा भएको भन्दै कार्यान्वयन गरेन । नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु भएसम्म पर्खनु भन्यो । तर, नयाँ शैक्षिक सत्र सुरु हुँदासमेत त्यहाँबाट हटाइएको छैन ।’

सरस्वती माविले उसको जग्गामा निजी विद्यालय सञ्चालन गरेको भन्दै नगरपालिकालाई पटक–पटक पत्र लेखेपछि ९ असोज ०८० मा दमक– ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । अध्ययन समितिले पनि सामुदायिक विद्यालयको जग्गा निजी विद्यालयले प्रयोग गर्नु संघीय तथा स्थानीय शिक्षा ऐनविपरीत हुने भन्दै नयाँ शैक्षिक सत्रअघि नै हटाउनुपर्ने प्रतिवेदन दिएको थियो । समितिले गत साउनमै प्रतिवेदन दिएको हो । यद्यपि, नगरपालिकाले गडमदर नामक निजी विद्यालयलाई २६ चैतमा मात्र नयाँ शैक्षिक सत्रअघि नै हट्न भन्दै पत्र लेखेको छ । 

गत भदौमै गडमदरलाई सामुदायिक विद्यालयको जग्गाबाट हटाउने निर्णय गरे पनि पत्र भने अन्तिम समयमा मात्र लेखेको हो । नगरपालिकाले पत्र ढिला लेख्दा यो विद्यालय तत्काल यहाँबाट हट्ने देखिँदैन । ‘यही शैक्षिक सत्रमा त्यहाँबाट हट्छौँ, तर विद्यालय त ८ वैशाखबाट लाग्न थाल्छ । बुधबारबाट नयाँ ठाउँमा भवन बनाउन थालेका छौँ,’ गडमदरका सञ्चालक सागर सुब्बाले भने, ‘ठ्याक्कै यति नै समय लाग्छ त भन्न सक्दिनँ, तर केही समय लाग्न सक्छ ।’ सुब्बा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको दमक नगर कार्यसमिति सदस्यसमेत हुन् । 

नयाँ शैक्षिक सत्रमा पनि सरस्वती माविकै जग्गामा रहेको संरचनाबाट गडमदरले भर्ना सुरु गरे आन्दोलनमा उत्रने सरस्वती माविले चेतावनी दिएको छ । ‘एक साताभित्र त्यो विद्यालयलाई नगरपालिकाले हटाएन भने नगरपालिकाको प्रमुख प्रशासनिक भवनको गेटमा तालाबन्दीसमेत गर्छौँ,’ सरस्वती माविका प्रधानाध्यापक सीताराम ढकालले भने । 

दमक नगरपालिका प्रमुख रामकुमार थापाले सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन भएको विषयमा नगरपालिका गम्भीर रहेको बताए । उनले नगरपालिकाले निजी विद्यालय हटाउन पत्र लेखिसकेको बताए । ‘त्यो निजी विद्यालय हटाउनुपर्छ भनेर पहिला नै निर्णय गरिसकेका हौँ । तर, निर्णय गर्दा विद्यालय चलिसकेका कारण तत्काल केही गर्न सकेनौँ,’ उनले भने, ‘विद्यालय हटाउने पक्षमा छौँ । जानकारी पनि गराएका छौँ । कुनै शैक्षिक गतिविधि त्यहाँबाट नगर्नू भनेर पत्राचार गरेका छौँ । चाँडै यो विद्यालय हट्नेमा विश्वस्त छौँ ।’

विद्यालयको जग्गामा सरकारी संरचनादेखि निजी घरसम्म 
सरस्वती माध्यमिक विद्यालयको नाममा दमक­– ८ मा रहेको करिब १३ बिघा जग्गामा निजी विद्यालय मात्र होइन, अन्य सरकारी संरचना पनि बनेको छ । यस्तै, निजी घरसमेत बनेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरीले जानकारी दिए । सरस्वती माविको जग्गामा दमक– ८ को वडा कार्यालयसमेत रहेको उनले बताए । यस्तै, प्रदेश सरकारले निर्माण गरेको अर्गानिक तरकारी बजार पनि यसमै छ । 

यो जग्गा संंरक्षणका लागि दमक नगरपालिका र सरस्वती माविबिचमा १९ वैशाख ०७८ मै २० वर्षका लागि सम्झौता भएको थियो । तर, सम्झौताअनुसार नगरपालिकाले यसको संरक्षणमा ध्यान नदिएको उनले बताए । ‘सम्झौता गरेको मितिले एक वर्षभित्र जग्गा हाल साबिक गर्ने भनिएको थियो । तर, यसमा नगरपालिकाले चासो दिएन । अहिले नै हाल साबिक गर्ने प्रक्रियामा छौँ, त्यसपछि कति र कहाँ जग्गा छ भन्ने देखिन्छ,’ उनले भने, ‘नगरपालिकाले सम्झौताअनुसार नगरेपछि सम्झौता रद्द गर्न व्यवस्थापन समितिले निर्णय गरेर नगरपालिकालाई पठाएका थियौँ । तर, नगरपालिकाले सम्झौता रद्द गर्न मानेन ।’

सम्झौतामा जग्गा उपयोग गरेबापत दमक नगरपालिकाले वार्षिक प्रोत्साहन रकम विद्यालयलाई उपलब्ध गराउने उल्लेख थियो । तर, कति रकम उपलब्ध गराउने भन्ने सम्झौतामा उल्लेख गरिएको छैन । यद्यपि, नगरपालिकाले प्रोत्साहनबापत कुनै रकम नदिएको सरस्वती माविका प्रधानाध्यापक सीताराम ढकालले जानकारी दिए । 

नगरपालिकाको सम्झौताअनुसार अर्गानिक तरकारी बजारबाट आएको नाफाको केही प्रतिशत सरस्वती माविलाई दिइने उल्लेख छ । यद्यपि, हालसम्म त्यो अर्गानिक तरकारी बजार चल्न सकेको छैन । ‘यो जग्गाबापत कुनै आम्दानी भएकोे छैन । विद्यालय सहयोग मागेर चलाइरहेका छौँ । तर, यति धेरै जग्गाबाट केही छैन,’ प्रधानाध्यापक ढकालले भने, ‘जग्गा अतिक्रमण भएको टुलुटुलु हेरर बस्नबाहेक केही गर्न सकेका छैनौँ । नगरपालिकाले समेत सम्झौता कार्यान्वयन गरेन ।’

दमक– ८ मा सञ्चालन भइरहेको कस्मिक पार्टी प्यालेसले पार्किङस्थलका लागि सरस्वती माध्यमिक विद्यालयको जग्गा प्रयोग गरेको छ । विद्यालयसँग सम्झौता गरेर वार्षिक ५० हजार रुपैयाँ दिने गरी करिब दुई कट्ठा जग्गा लिएको थियो । तर, पछिल्लो दुई वर्षयता सम्झौताअनुसारको रकम पार्टी प्यालेस सञ्चालकले नदिएको प्रधानाध्यापक ढकालले जानकारी दिए । ‘सम्झौताअनुसार लिजको पैसा कस्मिक पार्टी प्यालेसले विद्यालयको खातामा हाल्ने गरेको थियो । तर, दुई आर्थिक वर्षको पैसा अहिलेसम्म आएको छैन,’ उनले भने ।