१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o९:१८:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी यू–१९ विश्वकप छनोट : नेपाल र अफगानिस्तानबिच आगामी शनिबार निर्णायक भिडन्त 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१८:oo
  •  नेपाल र अफगानिस्तानको तीन खेलबाट समान ६ अंक छ, यी दुई टोलीबिचको विजेताले अर्को वर्ष जिम्बावे र नामिबियाले आयोजना गर्ने विश्वकपमा स्थान बनाउने

नेपाल र अफगानिस्तानमध्ये एक टोलीले सन् २०२६ को आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछ । मूलपानीको तल्लो क्रिकेट मैदानमा भइरहेको छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा नेपाल र अफगानिस्तान पुगेका छन् । दुवैले समान तीन खेलबाट ६ अंक जोडेका छन् । यी दुई राष्ट्रबिच शनिबार निर्णायक भिडन्त हुनेछ । सहभागी अन्य राष्ट्र हङकङ, ओमान र युएई अंकविहीन छन् । यी तीन राष्ट्रले बाँकी खेल जित्दा पनि शीर्ष स्थान भेट्टाउन सक्दैनन् । यसकारण नेपाल र अफगानिस्तानमध्ये एक राष्ट्रले जिम्बावे र नामिबियाले आयोजना गर्ने विश्वकपको टिकट काट्नेछ । 

छनोटको तेस्रो खेलमा नेपालले बुधबार हङकङमाथि नौ विकेटको सानदार जित निकाल्यो । यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई डिएलएस पद्धतिमा ५ रन र ओमानलाई आठ विकेटले हराएको थियो । अफगानिस्तानले ओमानलाई पहिलो खेलमा आठ विकेट र दोस्रो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो । माथिल्लो मूलपानी मैदानमा बुधबार भएको अर्को खेल वर्षाले रोकिँदा अफगानिस्तानले युएईलाई डिएलएस पद्धतिमा १८० रनले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो । नेट रनरेटका आधारमा अफगानिस्तानले नेपाललाई पछि पारेको छ । शनिबार हुने महत्वपूर्ण खेल वर्षाले प्रभावित हुँदा नेपाललाई घाटा लाग्नेछ । 

नेपालका कप्तान नरेन भट्टले अफगानिस्तानसँग खेल्न तयार भएको बताएका छन् । ‘अफगानिस्तानसँग खेल्न मानसिक रूपमै तयार छौँ,’ भट्टले भने, ‘हामीले मूलपानीमै अफगानिस्तानसँग राम्रो खेलेका छौँ । उनीहरूको खेल बुझेका छौँ । त्यसैले घरमै छनोट हुन खेल्छौँ ।’ एसिया छनोटमा दुई खेल मात्रै खेलेका स्पिनर युवराज खत्री लयमा छन् । उनले दुई खेलमा नौ विकेट लिइसकेका छन् । 

युवराजले ओमानविरुद्ध पहिलो खेलमा पाँच विकेट लिएका थिए । ब्याटिङतर्फ कप्तान नरेनसँगै नीरज यादव र साहिल पटेल उत्कृष्ट फर्ममा छन् । ‘चार महिना अभ्यास गरेका छौँ । व्यक्तिगत रूपमा पनि खेलाडी बलिया छन् । घरेलु समर्थकको पनि साथ हुनेछ,’ नरेनले भने । छनोट खेलअघि नेपाल र अफगानिस्तानबिच तीन खेलको शृंखला भएको थियो । अफगानिस्तान २–१ ले विजयी भएको थियो । नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । यसअनुसार नेपाली युवाले प्रदर्शन गरिरहेका छन् । गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपमा नेपाल छनोट भएको थियो । नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँचपटक, त्यसपछि सन् २०१२ र २०१६ मा यू–१९ विश्वकपमा स्थान बनाएको थियो । नेपाल अहिले नवौँपटक विश्वकप खेल्ने तयारीमा छ । कप्तान नरेनले उत्कृष्ट प्रदर्शन गरी विश्वकपमा स्थान सुरक्षित गर्ने योजना भएको बताए । 

नेपालको लगातार तेस्रो जित
नेपालले एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । तल्लो मूलपानी मैदानमा बलर चम्किएपछि नेपाल सहज जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा अलआउट हुँदा मात्र ११६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको हो । नेपालको जितमा साहिल पटेलले ४१ बलमा आठ चौकासहित अविजित ४२ रन बनाए । कप्तान नरेनले अविजित ३९ रन बनाएका हुन् । उनले २३ बलमा आठ चौका प्रहार गरेका थिए । नीरजकुमारले यादव १२ बलमा चार चौकासहित २३ रनको योगदान गरे । 

यसअघि हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन बनाए । उनले ११६ बलमा चार चौका र एक छक्का हिर्काए । अन्य खेलाडीले गतिलो योगदान दिन सकेनन् । नेपालका युवराज खत्रीले १० ओभरमा चार विकेट हात पारे । विपिन शर्माले ६.२ ओभरमा तीन विकेट हात पारे । सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिएका थिए ।

अफगानिस्तान पनि लयमा 
टेस्ट राष्ट्र अफगानिस्तानले छनोट खेलमा आफ्नो लय कायम राखेको छ । टोलीले लगातार तेस्रो जित निकाल्ने क्रममा युएईलाई १८० रनले हरायो । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३६० रनको लक्ष्य प्रस्तुत गरेको हो । प्रत्युत्तरमा युएईले ४७ ओभरमा सात विकेट गुमाएर १६८ रन बनाउँदा वर्षा भयो । अफगानिस्तानका ओपनर खालिद अहमाजाईले १३२ रनको शतकीय योगदान दिए । उनले १२४ बलमा १९ चौका हिर्काएका थिए । बर्कात इब्राहिमले ६२, जिआजाई खानले ६० तथा मोहम्मद खानले अविजित ५९ रन बनाएका हुन् । युएईका मुहम्मद रायन खानले सर्वाधिक ६४ रन बनाए । माधवमनोज नाइरले २८ तथा पृथ्वी मधुले २५ रनको योगदान गरेका थिए ।