
यौन दुर्व्यवहारमा परेपछि उजुरी दिँदा पनि कारबाही अगाडि नबढेको र गाउँमै मिलापत्र गर्न दबाब आएपछि सिराहाको नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदायको मंगलबार शंकास्पद मृत्यु भयो ।
तर, लिखित जाहेरी पर्दा पनि महेशपुर पतारी इलाका प्रहरी कार्यालयले आरोपितलाई पक्राउ नगरेको खुलेको छ । आरोपित नवराजपुर– ३, जगतपुर गाउँका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव मंगलबारसम्म गाउँमै रहे पनि प्रहरीले पक्राउ नगरेको हो ।
शवको पोस्टमार्टमपछि बुधबार दाहसंस्कार भइसकेको छ । अहिले भने प्रहरीले आरोपितलाई खोजिरहेको छ । पीडितकी आमा बिलटौनदेवी सदायले ९ पुसमा सञ्जीव र श्यामसुन्दरविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन् । तर, इलाका प्रहरी कार्यालयले आरोपितलाई पक्राउ गर्नुको साटो एउटै जाहेरी फरक–फरक मिति उल्लेख गरी फरक नम्बरमा दर्ता गरेको थियो ।
अनुसन्धान अधिकृतसमेत रहेका महेशपुर पतारी प्रहरी प्रमुख इन्स्पेक्टर रविन मैनालीले पीडितकी आमाले दिएको जाहेरी २५ फागुनमा ५३ नम्बरमा दर्ता गरी अनुसन्धान गरिरहेको बताए । यता, गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी तत्काल घटनाको यथार्थ छानबिन गरी दोषी पत्ता लगाउन निर्देशन दिएका छन् ।