
सुनसरीको देवानगन्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका– ७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगन्ज– १ का रविनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ ।
एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीनजना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । गोली हान्नेमध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार रहेका छन् । पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको आपराधिक गतिविधि गर्दै आएको उनले जानकारी दिए।
घटनामा ६ जनाको संलग्नता रहेको थियो । ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । पक्राउ परेका रविन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिनअगाडि मात्र पक्राउ परेर छुटेका थिए । गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।