Skip This
विश्वकपमा ६४ टोली खेलाउने योजनाको तीन महासंघले गरे विरोध
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
२o८२ बैशाख ३ बुधबार o९:१७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकपमा ६४ टोली खेलाउने योजनाको तीन महासंघले गरे विरोध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार o९:१७:oo

विश्वकपमा सहभागी राष्ट्र थप्ने फिफाको प्रस्तावमा युरोप, उत्तर अमेरिका तथा दक्षिण अफ्रिकी फुटबल महासंघको आपत्ति

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकप शतवार्षिक रूपमा मनाउँदै छ । विश्वकप सुरु भएको सय वर्ष पुग्ने अवसरमा फिफाले दक्षिण अमेरिका, युरोप तथा दक्षिण अफ्रिकालाई संयुक्त आयोजक महादेश बनाएको छ । अर्जेन्टिना, पाराग्वे र उरुग्वेले सन् २०३० को विश्वकपका उद्घाटन खेल आयोजना गर्नेछन् । त्यसपछि युरोपमा स्पेन र पोर्चुगलमा खेल हुनेछ । दक्षिण अफ्रिकामा मोरक्कोमा पनि खेल हुने फिफाले जनाएको छ । 

शतवार्षिक विश्वकपमा धेरै राष्ट्र सहभागी हुनुपर्ने अवधारणा छ । गत वर्ष फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोले शतवार्षिक विश्वकपमा कम्तीमा ६४ राष्ट्र सहभागी  हुन सक्ने घोषणा गरेका थिए । इन्फान्टिनोले फिफाको एक कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । उनका अनुसार तल्लो वरीयताका राष्ट्र पनि विश्वकपमा पुग्नेछ । जसको विश्वकप खेल्ने सपनासमेत पूरा हुने इन्फान्टिनोको भनाइ छ । 

तर, फिफाको यस योजना कार्यान्वयन हुने कठिन देखिएको छ । उत्तर र मध्य अमेरिकासँगै क्यारेबियन फुटबल महासंघले यसको विरोध गरेका छन् । क्यारेबियनका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले सन् २०३० को फिफा विश्वकपमा ६४ टोली खेलाउने प्रस्तावको आलोचना गरेका छन् । यसअघि युइएफए र एएफसीले पनि पाँच वर्षपछिको विश्वकपमा ६४ राष्ट्र संख्याको आलोचना गरेका थिए । युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले विश्वकपमा धेरै राष्ट्र सहभागी हुँदा यसको स्तर घट्ने दाबी गरेका छन् । 

‘अहिलेको विश्वकपको फर्म्याट र सहभागी संख्या नै उत्कृष्ट छ,’ क्यारेबियनका अध्यक्ष भिक्टरले भने, ‘जति धेरै संख्या भयो, प्रतियोगिता त्यति नै भद्रगोल हुनेछ ।’ उनले ३२ राष्ट्रबिचको विश्वकप सवैभन्दा सफल हुने जनाए । ‘प्रत्येक संस्करणमा जसो फिफाले कोटा बढाउँदै गएको छ, यसले प्रतिस्पर्धी संख्या बढे पनि उनीहरूको स्तर पुग्दैन,’ भिक्टरले भने, ‘विश्वकपमा उत्कृष्ट राष्ट्रले भाग लिने गर्छ, तर कहिले नयाँ राष्ट्रहरू आउँदा यसको स्तर नै फितलो हुने गरेको इतिहास छ, यसकारण संख्या घटाउने योजना राम्रो होइन ।’ 

दक्षिण अमेरिकाको दबाब
सन् २०३० को विश्वकपमा संख्या बढाउनुपर्ने योजना दक्षिण अमेरिकी फुटबल महासंघ हो । सन् १९३० मा उरुग्वेबाट विश्वकपको सुरुवात भएको थियो । विश्वकपको शतवार्षिक कार्यक्रम हुँदा फिफाले दक्षिण अमेरिकालाई नै प्रतियोगिता आयोजना गर्न अधिकार दिएको हो । विश्वकपले सय वर्ष मनाउने संस्करणमा धेरै राष्ट्रले भाग लिनुपर्ने महासंघले फिफामा प्रस्ताव राखेको थियो । फिफाका अध्यक्ष इन्फान्टिनोले महासंघको प्रस्ताव उचित लाग्यो । 

इन्फान्टिनोले विश्वकपलाई बृहत् बनाउनुपर्ने उद्देश्यका साथ ६४ राष्ट्रको अवधारणा सार्वजनिक गरे । यो अवधिमा फिफाको कार्यसमिति बैठकमा पदाधिकारीले दक्षिण अमेरिकी फुटबल महासंघ तथा अध्यक्षको प्रस्ताव सकारात्मक रूपमै लिएका थिए । तर, पछिल्लो बैठकमा संख्या बढाउँदा विश्वकपको विश्वसनीयतामाथि प्रश्न आउने कार्यसमितिका धेरैजसो पदाधिकारीहरूले आफ्नो प्रतिक्रिया राखे । 

सन् २०२६ को विश्वकप तीनवटा राष्ट्रले गर्दै छन् । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा ४८ टोलीबिच प्रतिस्पर्धा हुँदै छ । सन् २०२२ को कतार विश्वकपमा ३२ टोलीबिच प्रतिस्पर्धा भएको थियो । अहिले पनि आगामी संस्करणको सहभागी संख्यामाथि उत्तर अमेरिका, एसिया तथा युरोपले विरोध गरिरहेका छन् । यद्यपि, सन् २०१७ को फिफा कंग्रेसमा सर्वसम्मतले २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने निर्णय भएको थियो ।

७५औँ फिफा कंग्रेसले निर्णय गर्ने
सन् २०३० विश्वकपमा सहभागी संख्याको निर्णय फिफाको आगामी बस्ने कंग्रेसले गर्नेछ । १५ मेमा पाराग्वेमा फिफा कंग्रेस हुनेछ । फिफा अध्यक्ष इन्फान्टिनोले सुरुवातमै ६४ राष्ट्रबिच विश्वकप एजेन्डा राख्नेछन् । उनको प्रस्ताव बहुमतले स्वीकृति दिँदा दक्षिण अमेरिकी फुटबल महासंघको महत्वाकांक्षी योजना सफल हुनेछ । तर, फिफा र दक्षिण अमेरिकी फुटबल महासंघको प्रस्ताव सहज रूपमा पास हुने सम्भावना कम छ । यसमा युरोप, अमेरिका तथा क्यारेबियनहरूले विरोध जनाउनेछन् । भोटिङ राइटमा उनीहरूकै बाहुल्य छ । शतवार्षिक फिफा विश्वकपमा ६४ राष्ट्र संख्या हुन यी तीनवटै फुटबल महासंघको भूमिका निर्णायक हुनेछन् । यदि प्रस्ताव स्वीकृत भए २०३० संस्करणमा १२८ खेलहरू हुनेछन् । सन् १९९८–२०२२ को विश्वकपभन्दा खेल पनि दोब्बर हुनेछ । यसैबिच एएफसीका अध्यक्ष सेख सलमान विनले फिफाको योजनालाई खराब बताएका छन् । ‘आगामी फिफा कंग्रेसमा जुन प्रस्तावमाथि हामी छलफल गर्न लागेका छौँ, त्यो वास्तवमा अत्यन्तै खराब योजना हो,’ सेखले भने, ‘यसबारेमा सबैसँग राय–सुझाव लिनुपर्छ ।’ 

विश्वकप एक महिनामा नसकिने 
फिफाको प्रस्ताव स्वीकृति हुँदा त्यसको फाइदा तल्लो वरीयताका राष्ट्रहरूले लिन सक्छन् । तर, विश्वकप कति दिन लगाएर सकाउने भन्नेबारेमा फिफाका अध्यक्ष इन्फान्टिहोसँग स्पष्ट जवाफ छैन । अहिले चलिरहेको विश्वकप एक महिनामा सकिन्छ । यदि ६४ राष्ट्र विश्वकप आउँदा कसरी समूह विभाजन गर्ने र दिनमा कति खेल खेलाउने भन्ने फिफाले कुनै योजना बनाएको छैन । एएफसीका अध्यक्ष सेखले यसैको प्रश्न उठाएका छन् । ‘मानौँ सन् २०३० विश्वकपमा ६४ राष्ट्र हुनेछन्, फिफासँग यो प्रतियोगिता कति दिनमा सकाउने योजना छ ? यसको अहिलेसम्म हामीलाई जवाफ आएको छैन,’ उनले भने, ‘३२ राष्ट्रबिचको विश्वकप सम्पन्न गर्न एक महिना लाग्छ भने दोहोरो संख्या हुँदा कम्तीमा पनि दुई महिना समय लाग्छ, साथै यसको बजेट आकार पनि बढने छ ।’ धेरै राष्ट्रबिचको विश्वकप हास्यास्पद हुन सक्ने उनको भनाइ छ ।