
संसदीय कूटनीतिक अभ्यास गरेको ५८ वर्षपछि नेपालले अन्तरव्यवस्थापिका संघ (आइपियू) मा कार्यकारी भूमिका प्राप्त गरेको छ । आइपियूका दुई कार्यकारी समितिमा नेपालबाट रास्वपा सांसद सोविता गौतम र राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य निर्वाचित भएका छन् ।
संसद् सचिवालयको अन्तर्राष्ट्रिय महाशाखाका अनुसार आइपियूको कार्यकारी पदमा नेपाल निर्वाचित भएको यो पहिलोपटक हो । आइपियु विश्वका १८३ देश सदस्य रहेको अन्तर्राष्ट्रिय फोरम हो ।
सन् १९६७ मा आइपियूको सदस्यता लिएर वैश्विक रूपमा औपचारिक संसदीय कूटनीति प्रारम्भ गरेको नेपालले १९९१ देखि पदाधिकारी तहमा सभागिता जनाएर आफ्नो आवाज विश्वसामु राख्दै आएको छ । संसद् सचिवालयका अनुसार ५–९ अप्रिलसम्म उज्वेकिस्तानमा सम्पन्न १५०औँ महासभामा सभामुख र अध्यक्षको तहबाट भएको ११औँ उच्चस्तरीय उपस्थिति हो ।
नेपाललाई कार्यकारी भूमिका दिलाउन नेतृत्व गरेका सभामुख देवराज घिमिरेले पहिलोपटक अन्तर्राष्ट्रिय फोरमको कार्यकारी ठाउँमा पुगेको बताए । ‘अब हामी कमसेकम पनि एउटा अन्तर्राष्ट्रिय महŒवपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा पुगेका छौँ । एसिया प्यासिफिकको भए पनि त्यसको भूमिका धेरै महŒवपूर्ण हुने ठाउँमा पुगेका छौँ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने, ‘आगामी दिनमा आइपियूमा अब अलि हैसियतका साथ अगाडि जाने स्टेप प्राप्त भएको छ ।’