
पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने चौथो टोली बनेको छ । यसअघि साबिक विजेता ललितपुर सिटी र धनगढी प्ले अफमा पुगेका थिए । दशरथ रंगशालामा मंगलबार पोखराले बुटवल–लुम्बिनीमाथि २–० को जित निकाली अंक तालिकाको तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पहिलो संस्करणको विजेता काठमाडौं रेन्जर्सलाई गोलअन्तरमा पछि पार्दै पोखरा शीर्ष तीन स्थानमा उक्लेको हो । हारसँगै झापा लिगबाट बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि प्रतियोगिताबाट बुटबल पहिलो टोलीका रूपमा बाहिरिएको थियो । अब एफसी चितवन र काठमाडौंमध्ये एक टोली प्ले अफमा पुग्नेछ ।
पोखराले लिग चरणमा ६ खेलमा समान दुई जित र बराबरी खेलेको छ । दुई खेल गुमाएको पोखराले आठ अंक जोडेको छ । काठमाडौंले पनि समान खेलबाट आठ अंक बटुलेको छ । तर, गोलअन्तरमा पछि पार्दा काठमाडौं चौथो स्थानमा झर्यो । चितवनले ७ अंक जोडेको छ । अब चितवनले लिगको अन्तिम खेलमा धनगढीविरुद्ध खेल्नेछ । यस खेलमा चितवनले जित र बराबरीमा प्ले अफमा स्थान बनाउनेछ । चितवनको हारले काठमाडौं प्ले अफमा पुग्ने समीकरण बन्नेछ ।काठमाडौं प्ले अफमा पुग्न चितवनको नतिजामा निर्भर रहनेछ । पोखराले सुरुवाती दुई खेल गुमाएर उत्कृष्ट पुनरागमन गरेको हो । बुटवल जितविहीन हुँदै अंक तालिकाको पुछारमा रह्यो । बुटवलले पाँच हार र एक बराबरी खेल्यो । प्रतियोगिताको बुधबार ललितपुरले झापाको सामना गर्नेछ ।
आयुष र विलियमले पोखरालाई जिताए
पोखरालाई प्ले अफ स्थान पक्का गर्न जितबाहेक अरू विकल्प नै थिएन । बुटवलसँग बराबरी नतिजा निकाल्दा पोखरा प्ले अफ दौडबाट बाहिरिने थियो । यसकारण पोखराले बुटबलसँग गर या मरको स्थितिमा प्रतिस्पर्धा गरेको हो । पोखराको योजनामा आयुष घलान र विलियम वियासीले समान एक गोल गरी टोलीलाई शीर्ष तीन भित्र राखी प्ले अफमा पुर्याए । प्रतिस्पर्धामा बुटवलले पोखराविरुद्ध निराश खेल प्रदर्शन गरेको थियो ।
खेलको दसौँ मिनेटमा पोखराले १–० को अग्रता लियो । पोखराका लागि डिबक्स भित्र अनमार्कमा रहेका आयुषले अग्रता दिलाएका हुन् । उनले समीर तामाङको क्रसमा हेडिङ गोल गरेका हुन् । खेलको ५८औँ मिनेटमा पोखरा २–० ले अगाडि रह्यो । यसपटक विलियम वियासीले हेडिङ गोल गरेका हुन् । नवयुग श्रेष्ठको कर्नरमा विलियमले सहजै हेडिङ गोल गरेका हुन् । यसअघि जो ओडको प्रहारलाई बुटबलका गोलरक्षक दीप कार्कीले पन्च गरी क्लियर गरे । प्रतिस्पर्धामा पोखराले बुटवलमाथि दबाव राखेको थियो ।