
भुटानको थिम्पुमा भएको फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ । नेपाल चार राष्ट्र सहभागी प्रतियोगितामा दोस्रो र भुटान शीर्ष स्थानमा रहेको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले बताए । ११–१३ अप्रिलसम्म भएको प्रतियोगितामा सातमध्ये चार फाइनलमा नेपालले स्वर्ण जितेको थियो ।
महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले आधारमा हराउँदै स्वर्ण जितिन् । महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पछि पार्दै स्वर्ण हात पार्न सफल भइन् । पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारतका कृष्णकैलाश राईलाई ५–० अंकका आधारमा पाखा लगाउँदै स्वर्ण जिते । पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसँग ४–१ अंकले पराजित हुँदै उपविजेतामा सीमित भए ।
पुरुष ५४ केजीमा नेपालले ठूलो आशा गरिएका चन्द्रबहादुर थापा बंगलादेशका मोहमद उन्सोवसँग फाइनलमा ३–२ अंकले चुके । तीनै राउन्ड नै आफ्नो पक्षमा पार्दै उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रीको चेतावनी पाउँदा ३–२ ले पछि पर्दै रजतमा सीमित भए । यसअघि चन्द्रले सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले पन्छ्याउँदै फाइनल पुगेका थिए ।