
सोमबार साँझ सुनसरीको देवानगन्जमा घटेको गोली प्रहार घटनामा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। सोमबार साँझ साढे ६ बजेतिर देवानगन्ज बजारमा अचानक भएको गोली प्रहार घटनामा सुनसरी देवानगन्ज गाउँपालिका– ७ का २१ वर्षीय शिवकुमार मेहतासहित रविनकुमार यादव र पिन्टु यादव घाइते भएका थिए।
घाइतेमध्ये शिवकुमारको पेटमा गोली लागेकोले उनको अवस्था गम्भीर रहेको र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ। घाइतेमध्ये पिन्टुको अवस्था सामान्य छ। अर्का घाइतेको नाकमा गोली लागेकाले उनी घाइते भएकाले स्थानीय अस्पतालमा उपचार भएपछि घर फर्केका छन्।
सुनसरी प्रहरीका अनुसार देवानगन्ज– ७ का कामेश्वर यादवले पेस्तोल प्रयोग गरी सोमबार साँझ मोटरसाइकलमा सवार शिवकुमार र रविनकुमारलाई निशाना बनाएर तीन राउन्ड गोली प्रहार गरेका थिए। गोली प्रहारबाट मोटरसाइकलको पछाडि बसेका शिवकुमारलाई मुख्य निशाना बनाएकाले उनको पेटमा गोली लागेको थियो।
गोली प्रहार गर्ने कामेश्वरको खोजी कार्य तीव्र बनाएको र चाँडै पक्राउ पर्ने प्रहरीले दाबी गरेको छ। गोली प्रहार गर्ने कारण आपसी दुस्मनी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक भनाइ छ । तर, दुस्मनी किन भएको थियो भन्नेबारे अनुसन्धान भइरहको प्रहरीले बताएको छ। सुनसरीको देवागन्ज नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पालिका हो । यहाँबाट दैनिक चोरी तस्करी हुँदै आएको छ।