
त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम तोकिएको समयमा पूरा नहुने भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा २४ वैशाख २०८२ भित्र १० हजार सिट क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान गर्न सम्झौता भएको थियो । सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कंठले त्रिवि मैदानमा समयभित्र दुवै काम नहुने बताएका छन् ।
यद्यपि, तीनमा तीन सिफ्ट गरी प्यारापिट र फ्लडलाइट राख्ने गरी काम भइरहेको कण्ठले बताए । ‘अहिलेको अवस्थामा तोकिएको समयमै काम पूरा हुनेमा शंका छ, केही समय पर सर्न सक्छ,’ कण्ठले भने, ‘दुई दिन पानी पर्दा मुख्य समस्या भयो, हामीले तीन सिफ्टमा काम गरिरहेका छौँ, कतै न कतैबाट ढिला भएकै छ ।’
पहिलो चरणमा मैदानमा फ्लडलाइट निर्माण हुनेछ । त्यस्तै, १० हजार सिट क्षमताको प्यारापिट तयार हुनेछन् । प्यारापिटसँगै सिट पनि जडान हुनेछन् । प्यारापिटमुनी पार्किङ हुने जनाएको छ । त्यस्तै मैदानलाई घुमाएर बाटो बनाइने छ । सिट र फ्लड लाइट भारतबाट झिकाइने कण्ठले बताए ।
दुई कम्पनीलाई जिम्मेवारी
त्रिवि मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने कार्यमा सहरी विकास मन्त्रालयले दुईवटा कम्पनीलाई जिम्मेवारी दिएको छ । मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ठेक्का पाएको छ । यस कम्पनीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको हो । फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको मन्त्रालयले जनाएको छ । जोइन्ट भेन्चरले फ्लडलाइट जडान गर्न ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।
३७ प्रतिशत काम पूरा
मन्त्रालयले गत ५ मंसिरमा टेन्डर आह्वान गरेको थियो । १ फागुनमा बोलपत्र स्वीकृपत्र पाएपछि दुई फरक कम्पनीलाई काम अगाडि बढाउन निर्देशन मन्त्रालयले दिएको थियो । त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण कार्य थालिएको छ । द्विपक्षीय सम्झौताअनुसार यो काम ६५ दिनमा पूरा हुनुपर्नेछ । अहिले प्यारापिटको बेस काम पूरा भएको छ ।
सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्तीका अनुसार अहिले ३७ प्रतिशत मात्रै काम भएको छ । ‘अहिले यति नै भन्न सक्ने अवस्था छैन । लेखाजोखा ३७ प्रतिशत काम भएको छ । अहिले प्यारापिट र फ्लडलाइटका बेस काम पूरा भएका छन्,’ उनले भने, ‘यो कामलाई नै समय लाग्ने हो । बाँकी काम चाँडै हुन्छ । निर्माण कम्पनीका साथीहरू पनि समयमै काम सक्ने भनेर लाग्नुभएको छ ।’ यता, फ्लडलाइट जडानका लागि ६ वटामध्ये दुईको चेकिङ पनि भइरहेको छ । यद्यपि, फ्लडलाइट ल्याउन टेन्डरमा आएका तीन कम्पनीको मापदण्ड पूरा नभएपछि पुनः टेन्डर गरिएको हो ।
समयभित्र काम सकाउन निर्देशन
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गत ७ चैतमा निर्माणाधीन मैदानको निरीक्षण गर्दै निर्धारित समयमै प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्देशन दिएका थिए । ‘समयमै काम सक्नका लागि तीन चरणमा काम अघि बढिरहेको छ । फ्लडलाइट जडान र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम सके, नेपाल पनि पूर्वाधार निर्माण छोटो समयमै गर्न सकिने सन्देश जान्छ,’ सिंहले भनेका थिए, ‘अहिले तीन चरणमा युद्धस्तरमा काम भइरहेको छ । समयमै सकिने विश्वास मलाई छ ।’
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको तीन सय दिनमा त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्न निर्देशन दिएका थिए । पछिल्लोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीनपटकसम्म टेन्डर आह्वान गरे पनि विभिन्न कारणले गर्दा कामले गति पाएको थिएन । त्यसपछि प्रधानमन्त्री ओलीले मैदानको निर्माण गर्न सहरी विकास मन्त्रालयलाई जिम्मेवारी सुम्पिएका हुन् ।