१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भक्तपुरमा पौने पाँच अर्ब लगानीमा ‘स्वनिगः’ रिसोर्ट निर्माण सुरु

शेष घले, अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले ६० भिल्लाको रिसोर्ट सञ्चालन गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३३:oo

गैरआवासीय नेपाली शेष घले र समिट होटेलका संस्थापक अमृतमान शाक्यको लगानीमा भक्तपुरको गुन्डुस्थित घ्याम्पे डाँडामा लक्जरी रिसोर्ट निर्माण सुरु भएको छ । नयाँ वर्षकै दिन पारेर सोमबार ‘स्वनिगः’ रिसोर्टको भूमि पूजा गरिएको छ । लक्जरी ६० भिल्लाहरू रहने रिसोर्टमा चार अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी हुने अनुमान छ ।

भक्तपुरमा रहेको सय रोपनी जमिनलाई पाँचतारे प्रोपर्टीमा विकास गर्न लागिएको हो । जुन प्रोपर्टीमा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटेल, टाइम–सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश गरिनेछ । उक्त प्रोपर्टी नयाँ नेपाली ब्रान्ड ‘स्वनिगः’अन्तर्गत सञ्चालन हुनेछ । स्वनिगः नेवारी शब्द हो, जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । 

रिसोर्ट निर्माण नोभेम्बर २०२७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रिसोर्टको व्यवस्थापनमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउने तयारी भइरहेको बताइएको छ । स्वनिगः इम्प्लिमेन्टिङ एक्सपर्टस् ग्रुप (आइइजी) र एस एन्ड जेजी होल्डिङ्स (अस्ट्रेलिया)को संयुक्त उपक्रममा सञ्चालन हुनेछ ।

आइइजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले नेतृत्व गरिरहेका छन्, जसले समिट होटेल, एयरपोर्ट होटेल र निर्माणाधीन ओएसिस होटेलमा लगानी गरेर आतिथ्य सत्कार व्यवसायमा संलग्न छन् । एस एन्ड जेजी प्रत्यक्ष विदेशी लगानी (एफडिआई) कम्पनी हो, जसमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्षसमेत रहेका शेष घले र जमुना गुरुङको स्वामित्व छ । एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआइटी ग्रुप होल्डिङ्समार्फत काठमाडौंको कान्तिपथमा पाँचतारे होटेल निर्माण भइरहेको छ ।

१२ अर्बभन्दा बढी लगानी रहने होटेल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने बताइएको छ । यो होटेल सञ्चालनमा आएपछि आतिथ्य सत्कार क्षेत्रमा सबैभन्दा ठुलो एफडिआई परियोजना बन्नेछ । एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायिक अवसरहरूको अन्वेषण गरिरहेको छ । यस्तै, ऊर्जा क्षेत्रमा पनि लगानी गर्ने लक्ष्य छ ।

यस्तै, स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । यो रिसोर्टलाई नेपाली तथा विदेशी पाहुनाका लागि विलासी पर्यटकीय गन्तव्य र गुणस्तरीय तथा स्वस्थ जीवनशैलीमा जोड दिने परिपूर्ण वेलनेस सेन्टरका रूपमा विकास गरिनेछ । यसले विश्राम, आध्यात्मिकता, कला–संस्कृति, खेलकुद र लाइफस्टाइल अतिथि सत्कारको अद्वितीय सम्मिश्रण प्रस्तुत गर्नेछ ।

नारायणघाटमा खुल्यो ‘सिद्धार्थ होटेल चितवन’
स्वदेशी चेन होटेल ब्रान्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साबिकको होटेल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए । नारायणी नदी किनारमा अवस्थित प्रिमियम प्रपर्टीमा प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्य सिद्धार्थको योजना छ । ‘सिद्धार्थको चेन विस्तारसँगै सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यसहित सिद्धार्थले होटेल व्यवस्थापनको जिम्मेवारी लिएको हो,’ उनले भने, ‘प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य हुन सक्छ ।’ 

करिब २५ रोपनीमा फैलिएको होटेलमा स्विट, सुपर डिलक्स र डिलक्स गरी ४४ कोठा छन् । माया डाइनिङ रेस्टुरेन्ट सञ्चालनमा छ । होटेलमा सुपारी र नरिवललगायतका फलफूलहरूको बगैँचा रहेको छ । पुल्चोकबाट पाँच सय मिटर दूरीमा रहेको होटेल सहरबाट नजिक, तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि उपयुक्त हुने बताइएको छ । होटेलमा स्विमिङ पुल, थिएटर सेटअपमा चार सयजना अट्ने सभाहल, करिब ५० जना अट्ने बोर्डरुम पनि छन् ।

कम्पनीले हाल भएको पूर्वाधारमा थप लगानी गरेर सेवा–सुविधा विस्तारको पनि योजना बनाएको छ । सिद्धार्थ ग्रुपका सिइओ कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरेर होटेलको स्तरोन्नति पनि गरिने बताए । ‘होटेलमा ४४ वटा रुम छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ, साथै तीनवटा सम्मेलन हलका साथै स्विमिङ पुलको पनि स्तरोन्नति गरिनेछ,’ उनले भने, ‘होटेलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड बार पनि थपिनेछ । सिद्धार्थ ग्रुपअन्तर्गत विभिन्न ब्रान्डमा ३० भन्दा बढी होटेल सञ्चालनमा छन् । 

कृष्णप्रसाद न्यौपाने,
सिइओ, सिद्धार्थ हस्पिटालिटी ग्रुप

हामी अझै लगानी वृद्धि गरेर होटेल स्तरोन्नति गर्दै छौँ । अहिले होटेलमा ४४ वटा रुम छन्, आगामी दिनमा ६० वटा बनाउनेछौँ । स्विमिङ पुलको पनि स्तरोन्नति गरिनेछ भने स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड बार पनि थपिनेछ ।