
कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न नसकेका सात भ्रातृसंस्थामध्ये तीन संस्थाका सभापति र निर्देशक समितिका संयोजकसँग प्रगति विवरण मागेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अनौपचारिक छलफलपछि विवरण मागिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत मागिएको विवरणमा एक साताभित्र जानकारी विवरण पेस गर्न भनिएको छ ।
सभापति देउवा र महामन्त्रीद्वयको छलफलमा पार्टी केन्द्रीय समितिको निर्णयअनुसार चैतसम्म महाधिवेशन गर्न नसकेका सातमध्ये नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल दलित संघबारे छलफल भएको थियो । ‘तरुण दल, खेलकुद संघ, किसान महासंघ र थारू संघका बारेमा छलफल हुँदा उनीहरू अब एक–डेढ महिनामा अधिवेशन गर्न सक्ने अवस्थामा छन् भन्ने भयो । उनीहरू महाधिवेशनउन्मुख छन् भन्दा हुन्छ,’ सोमबार शीर्ष नेताबिच भएको छलफलमा सहभागी पार्टी मुख्यसचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘विशेष गरी नेविसंघ, महिला संघ र दलित संघका निर्देशक समिति र तदर्थ, केन्द्रीय समितिका सभापतिसँग सूचना÷जानकारी लिन लागिएको छ । त्यस आधारमा पार्टीले उचित निर्णय लिनेछ ।’
पार्टीद्वारा गठित निर्देशक समितिमा नेविसंघका लागि पार्टी सहमहामन्त्री किशोरसिंह राठौर, महिला संघका लागि सहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशशरण महत र दलित संघका लागि सहमहामन्त्री जीवन परियार तोकिएका छन् । उनीहरूसहित भ्रातृसंस्थाका नेतृत्वसँग पार्टीले अधिवेशनको प्रगति विवरण मागेको छ । ‘उहाँहरूसँग स्पष्टीकरण सोधिएको होइन, प्रगति विवरण मागिएको हो,’ पौडेलले भने ।
यसबिचमा कांग्रेसका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपांग संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघको अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी सात भ्रातृसंस्थाको अधिवेशन हुन बाँकी छ । अधिवेशन नहुँदा लामो समयदेखि मनोनीत नेतृत्वका आधारमा ती संस्था चलिरहेका छन् ।
कांग्रेस सभापति देउवाले ९ चैत ०७८ मा नेविसंघमा दुजाङ शेर्पालाई अध्यक्ष मनोनीत गरेका थिए । तत्कालीन निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ तदर्थ नेतृत्वमा चलिरहेको छ । महिला संघको पनि ०७३ पछि महाधिवेशन हुनसकेको छैन । त्यसयता महिला संघ तदर्थ समितिमा चलिरहेको छ । दलित संघमा पनि अधिवेशन हुन सकेको छैन । ‘पार्टी निर्णयअनुसार सात भ्रातृसंस्थाले अधिवेशन गर्ने समयसीमा समाप्त गरेकाले उनीहरूलाई भंग गर्नुपर्छ । तर, शीर्ष नेताले निकास दिने गरी छलफल थालेको हुनाले बिचको कुनै बाटो सुल्झिन सक्ला,’ कांग्रेसका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने ।
कृष्णप्रसाद पौडेल, मुख्यसचिव, कांग्रेस
पार्टीका १२ भ्रातृसंस्थामध्ये पाँचवटाको महाधिवेशन भएको छ, चार संस्था अधिवेशनउन्मुख छन् । बाँकी तीन संस्थाको प्रगति के भएको छ भनेर जानकारी विवरण लिने र त्यस आधारमा पार्टीले उचित निर्णय लिने भन्ने कुरा भएको छ ।