
अघिल्लो वर्ष इजरायलले हेजबुल्लाहविरुद्ध गरेको व्यापक बमबारीका कारण उत्पन्न भग्नावशेष अहिले लेबनानको राजधानीमा सडकको छेउमा फ्याँकिएको छ । र, भग्नावशेष व्यवस्थापनको नेतृत्व ढिलै भए पनि हेजबुल्लाह समूहको प्रभुत्व रहेको स्थानीय निकायले गरिरहेको छ । यस प्रक्रियामा व्यापक अपारदर्शिता देखिन्छ, जसले देशको पुनर्निर्माणमा रहेको चुनौतीलाई संकेत गर्छ । सरकारी माइनुटका अनुसार बेरुतको दक्षिणी उपनगरहरूको नगर निकाय ‘दहिएह युनियन अफ म्युनिसिपालिटिज’लाई क्षति मूल्यांकन गर्न र भग्नावशेष हटाउने कामका लागि लाखौँ डलर सरकारी कोष छुट्याइएको छ ।
पछिल्लोपटकको द्वन्द्व अन्त्य भएको महिनौँपछि पनि भग्नावशेष हटाउन गरिएका सम्झौता सार्वजनिक गरिएको छैन । विश्व बैंकको एक अनुमानअनुसार पछिल्लो द्वन्द्वको भौतिक क्षति करिब ६.८ अर्ब डलर थियो । दहिएहका प्रायः भग्नावशेष ‘कोस्टा ब्राभा’ नामक ल्यान्डफिलमा लाने लक्ष्य राखिएको छ । तर, अहिले अधिकांश भग्नावशेष दक्षिण बेरुतमा अवस्थित राष्ट्रिय विमानस्थल जाने मार्गको बिचमा रहेको दहियाह युनियनको जमिनमा फ्याँकिएको छ ।
जनवरीमा प्रधानमन्त्री नवाफ सलामको सरकारले यस कार्यका लागि रकम निकासा गरेको थियो । त्यस वेलादेखि नै सरकारले देशभित्र र विदेशी दाताहरूको सरकारी खर्चमा पारदर्शिता बढाउन र लेबनानका संस्थामा हेजबुल्लाहको पकड कमजोर बनाउने दबाब सामना गरिरहेको छ । अलग राजनीतिक शाखा भएको हेज्बुल्लाह लामो समयदेखि लेबनानमा एक प्रमुख राजनीतिक तथा सैन्यशक्ति रहँदै आएको छ । बेरुतस्थित ‘कार्नेगी सेन्टर’का अनुसन्धान उपनिर्देशक मोहनद हेग अलीका अनुसार दहियाह युनियन हेजबुल्लाहको राजनीतिक नेतृत्वको निगरानीमा काम गर्दछ । युनियनको वेबसाइटका अनुसार हेजबुल्लाहको स्वास्थ्य संस्थाले युनियनको नागरिक रक्षाकेन्द्र वित्तपोषण गर्दै संयुक्त रूपमा चलाउँछ भने यसको खाद्य तथा स्वास्थ्य निरीक्षण एकाइ पनि तिनले संयुक्त रूपमा सञ्चालन गर्छन् ।
हेजबुल्लाहविरोधीहरूले भने इरान समर्थित यस सिया समूहलाई पुनर्निर्माण प्रक्रियामा भूमिका दिँदा यसले राजनीतिक लाभ कायम राख्न सक्षम हुने चिन्ता व्यक्त गरेका छन् । साथै, गत वर्षको निकै खराब हारपछि यसले ती सरकारी कोषलाई आफ्नो आधारमा पुनः मजबुत बनाउन प्रयोग गर्न सक्ने चिन्ता पनि उस्तै छ । यसअघि भएको सन् २००६ मा भएको पछिल्लो युद्धपछिको पुनर्निर्माणमा हेजबुल्लाहको भूमिकाले यसको शक्ति बढाउन मद्दत गर्न सरेको थियो ।
न्यूनस्तरको केन्द्रीकृत योजना र उचित सुपरिवेक्षणको अभावले वातावरणमाथि गम्भीर असर निम्त्याउन सक्ने वातावरणविद्को चिन्ता छ । ‘उही पुरानो ढाँचा पुनः दोहोरिइरहेजस्तो देखिन्छ,’ अर्थ मन्त्रालयअन्तर्गतको बासिल फुलिहान संस्थानका निर्देशक लामिया मुबायदले भनिन् ।
दक्षिणी लेबनानका पुराना ठेकेदार रियाद अल असदले हेजबुल्लाहसँग जोडिएका समूहलाई क्षति मूल्यांकनको सम्पूर्ण जिम्मा दिनाले हेजबुल्लाह र यसका सहयोगीहरूमाथिको राजनीतिक निर्भरता गहिरो हुने बताए । किनकि तिनले गर्ने मूल्यांकनले विगतमा पनि क्षतिपूर्ति भुक्तानीको परिणामलाई निर्धारण गरेको छ । ‘अहिले विगत जे गरिन्थ्यो त्यही प्रक्रिया नै दोहोर्याइएको छ,’ उनले भने । हेजबुल्लाहको वास्तविक लक्ष्य मानिसलाई ‘घाँटीबाट’ समाएर लामो समय तिनको ‘ग्राहक’ बनाउनु रहेको रियादको ठम्याइ छ ।
इजरायलमाथि हमासले अक्टोबर ७, २०२३ मा आक्रमण गरेपछि इजरायलले गाजामाथि आक्रमण सुरु गर्यो । त्यस आक्रमणलाई रोक्न भन्दै हेजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गर्न थालेपछि इजरायलले लेबनानमा रहेका हेजबुल्लाहका ठेगानामा आक्रमण सुरु गर्यो । इजरायली आक्रमण र समय–समयमा हेजबुल्लाहको रकेट प्रहार गत वर्ष नोभेम्बर २७ मा युद्धविराम नभएसम्म जारी रह्यो ।
संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार इजरायली बमबारी अभियानले लेबनानमा एक करोड घनमिटर भग्नावशेष सिर्जना गरेको हुन सक्छ । यो सन् २००६ को युद्धका क्रममा सिर्जित भग्नावशेषभन्दा तीन गुणा बढी हो । युद्धविरामका बाबजुद इजरायलले समय–समयमा बमाबारी जारी राखेको छ, जुन हालैका हप्तामा झन् तीव्र बनेको छ । विनाश मुख्यतः दहियाह, दक्षिणी लेबनान र हेजबुल्लाह तथा उसको सहयोगी सिया पार्टी अमलको परम्परागत आधार क्षेत्र बेका उपत्यकामा केन्द्रित छ । डिसेम्बरमा, लेबनानको कामचलाउ सरकारले बेरुतको दक्षिणी उपनगरमा भग्नावशेष हटाउनका लागि दहियाह युनियनलाई एक करोड डलर छुट्याएको थियो ।
केन्द्र सरकारबाट रकम पाएपछि दहियाह युनियनले खुला टेन्डर जारी गरेको थियो । जुन कुरा त्यसवेला जारी कागजातको समीक्षा गरेको फाइनान्सियल टाइम्सले पनि पुष्टि गरेको छ । तर, त्यसपछि सार्वजनिक खरिद कानुनअनुरूप लगभग एक–एक महिना लामो अवधि पर्खनुको सट्टा, यसले जनवरीको सुरुमा सबैभन्दा कम बोली लगाउने ‘अल बोन्यान’लाई प्रत्यक्ष सम्झौता अनुमोदन गर्न आह्वान गर्यो । अल बोन्यानले प्रतिघन मिटर ३.६५ डलरको प्रस्ताव गरेको थियो । यस रकमलाई अन्य ठेकेदारहरूले अविश्वसनीय रूपमा कम भनेर व्याख्या गरेका छन् ।
दहियाहले अल बोन्यानसँग गरेको सम्झौता र टेन्डर सार्वजनिक गरेको छैन । यद्यपि, विधानअनुसार युनियन तिनलाई अनलाइनमा प्रकाशित गर्न बाध्य छ । युनियनका प्रमुखले यस विषयमा गरिएका प्रश्नको जवाफ दिएको छैन । अल बोन्यानका प्रमुख अपरेटिङ अफिसर अली अल–मुसाबीले आफ्नो संस्थाको प्राविधिक विशेषज्ञताको कारणले अरूलाई उछिन्न सफल भएको जोड दिए । उनले भग्नावशेषबाट निकालिएको छड तथा फलामको पुनर्विक्रयले न्यून लागतको क्षपिपूर्ति पूरा गर्न मद्दत गर्ने बताए ।
उनले फर्मको हेजबुल्लाहसँग कुनै प्रत्यक्ष सम्पर्क रहेको कुरा पनि अस्वीकार गरे । तथापि, पछिल्लो कामको सिलसिलामा युनियनसँग नजिक रहेर समन्वय गरिरहेको बताए । दक्षिण बेरुतमा युनियनको स्वामित्वमा रहेको सडक किनारको साइटमा, बाक्लो झाडीपछाडि भग्नावशेषको थुप्रो देखिन्छ । वातावरणविद् र विदेशी दाताहरूले भग्नावशेषलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने, तिनको वर्गीकरण र पुनः प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन् । उनीहरूले सस्तो, सुविधाजनक ठाउँमा भग्नावशेष फ्याँक्दा गम्भीर पारिस्थितिक क्षति हुने जोखिम रहेको चेतावनी दिएका छन् ।
‘कुनै पनि साइटबाट बाहिरिने प्रत्येक ट्रकमा जिपिएस जडान हुनुपर्छ । साथै, परिणाम मापन गर्ने सेन्सर पनि राखिनुपर्छ,’ लेबनानमा संयुक्त राष्ट्रसंघको भग्नावशेष कार्यदलको परिमाण निर्धारण गर्ने इन्जिनियर एली मन्सुरले भने,‘नत्र सबै कुरा कसैले थाहा नपाउने अज्ञात स्थानमा पुग्नेछ ।’ अल बोन्यानले भने भग्नावशेष अन्ततः पूर्वनिर्धारित ‘कोस्टा ब्राभा’ ल्यान्डफिलमै पुर्याइने बताए । तर, ल्यान्डफिलका सञ्चालकले भने यस कुराको ग्यारेन्टी दिन नसक्ने बताए ।
नयाँ सरकारको सामना गरिरहेका ठुला चुनौतीको संकेत गर्दै वातावरणमन्त्री तमारा जेनले राज्यको सीमित बजेटभित्र रहेर ठेकेदारले सबै वातावरणीय मापदण्ड पालना गर्न नसक्ने स्वीकार गरिन् । दोस्रो चरणमा भग्नावशेषलाई अन्तिम डिस्पोजल साइटमा लगिनेछ । त्यसपछि हुने पुनः प्रयोग विश्व बैंकले दिने ऋणमा निर्भर हुने उनले बताइन् । जेनले ठेकेदारहरू व्यावहारिक हुनुपर्ने जोड दिइन् । ‘कुन राम्रो विकल्प हो, मानिसहरूका बिचमा भग्नावशेष छोड्ने कि यसलाई अन्यत्र अलग ठाउँमा लगेर राख्ने ?,’ आफूहरूसँग सीमित विकल्प भएको संकेत गर्दै जेनले भनिन् ।
ट्यापरले लेबनान, गाजा र सिरियाबारे कलम चलाउँछिन् ।
– फाइनान्सियल टाइम्सबाट