
नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले शनिबार नयाँ पत्रिकाका खेलपत्रकार श्रीलोचन राजोपाध्यायसहित पाँचजनालाई सम्मानित गरेको छ । व्यायाम मन्दिरद्वारा आयोजित आठौँ नीलकण्ठ मानन्धर स्मृति पावर लिफ्टिङ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।
मेरोखेलडटकमका प्रधानसम्पादक श्रीविक्रम भण्डारी, गोरखापत्र अनलाइनका गोविन्द रेग्मी, सेतोपाटी अनलाइनका सीताराम कोइराला र अनलाइनखबरडटकमका गोविन्दराज नेपाल पनि सम्मानित भएका हुन् ।
शारीरिक सुगठन तथा व्यायाम मन्दिरको विकास र विस्तारमा लामो समयदेखि योगदान पुर्याएका पूर्वएआइजी विजयलाल कायस्थलाई ५५ हजार पाँच सय ५५ नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
नेपाल बडी बिल्डिङ महासंघका कायस्थ प्रथम उपाध्यक्षसमेत हुन् । काठमाडाैँ महानगरपालिकाका प्रवक्ता तथा कामपा १७ वडाध्यक्ष नवीन मानन्धरसहित व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानलगायतले सम्मानपत्र तथा पुरस्कार प्रदान गरे ।