
वर्षौंदेखि आफ्नै भूमिमा घर बनाई बसेका, तर कानुनी स्वामित्वबाट वञ्चित रहेका कपिलवस्तुका सयौँ घरधनीले अहिले लालपुर्जा हात पारेका छन्। चोरी र डकैतीबाट जोगिन तथा सुरक्षाका लागि एउटा क्षेत्रमा गुजुप्प घर बनाई बस्ती बसेका थिए। २०२८ सालमा नापी प्रक्रिया सुरु भयो। नापी प्रक्रियामा ती बस्तीलाई एउटै कित्तामा समेटी ‘गाउँ ब्लक’ नामाकरण गरिएको थियो। स्थानीय भाषामा ‘मिनाहा डिही’ भनिँदै आएको बस्तीका नागरिकले कम्तीमा पाँच दशकपछि जग्गाधनी पुर्जा पाएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कपिलवस्तुका तीन पालिकाका एक हजार ६६६ घरमुलीलाई लालपुर्जा वितरण गरेको छ। शुक्रबार शिवराज नगरपालिका वडा नम्बर ३ मा १८७ र बिहीबार विजयनगर गाउँपालिकामा ४३ गाउँका ६३०, वाणगंगा नगरपालिका पटना मोतीपुरका ११ र बुद्धभूमि नगरपालिका वडा नं. ४ र ५ का ८३८ जनालाई पुर्जा वितरण गरिएको छ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्षाैँदेखि बसोबास गर्दै आएका, तर पुर्जा नभएको नागरिकलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको बताएका छन्। भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी बनाउने अधिकारीले बताएका छन्। जंगल फँडानी गर्ने, जमिन मिच्ने, सडक कब्जा गर्ने कार्यलाई रोक्ने प्रयाससमेत भएको उनले बताएका छन्। कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले जनतालाई सेवा, आर्थिक र विकाससँग जोड्नुपर्नेमा बताउँदै २०७१ सालपछि नापी भए पनि पुर्जा नपाएका त्यस्ता बस्तीका जनतालाई स्वामित्व दिनुपर्ने बताएकी छिन्।
विजयनगर गाउँपालिकाको ७ वडाका ४३ वटा गाउँ बस्तीका जनताले लालपुर्जा पाएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए। नापी कार्यालय कपिलवस्तुले महाराजगन्ज नगरपालिकाको सात सय, मायादेवी गाउँपालिकाका एक हजार पाँच सय र कपिलवस्तु नगरपालिकाका दुई सय घरधनीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको कार्यालय प्रमुख जनकबहादुर भण्डारीले बताएका छन्।