
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाराको निजगढ नगरपालिकामा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका दुईवटा निजी अस्पताल, तीनवटा डेन्टल क्लिनिक र चारवटा औषधि पसल बन्द गर्न निर्देशन दिए।
मधेश प्रदेशका विभिन्न जिल्लामा अस्पतालहरूको अनुगमन गर्दै आएका मुख्यमन्त्री सिंहले शुक्रबार निजगढमा गरेको अनुगमनको क्रममा निजगढ ८, सहिद चोकको जीवनदान अस्पताल र निजगढ ९, बकैया टोलमा रहेको निजगढ सिटी हस्पिटललाई बन्द गर्न आदेश दिए। दुवै अस्पतालले इजाजत र अन्य आवश्यक प्रक्रिया नै पूरा नगरी सञ्चालन गरेको पाइएपछि बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।
त्यसैगरी, मुख्यमन्त्रीले निजगढ ८, सहिद चोककै नारायणी दन्त सेवा केन्द्र, लायन्स चोकको निजगढ डेन्टल क्लिनिक, निजगढ ७, सहिद चोकको कान्ता डेन्टल मेडिकललाई पनि बन्द गर्न निर्देशन दिए। मुख्यमन्त्री सिंहको टोलीले निजगढ ९ को मुहम्दी मेडिसिन सेन्टर, सम्मा फर्मेसी औषधि पसल, मिश्रा मेडिकल र निजगढ ८ को सिद्धार्थ मेडिकल हललाई बिरामीको उपचार रोक्न आदेश दिए।
औषधि पसलमा नियमविपरीत शय्या (बेड) राखेर बिरामी भर्ना र उपचार गर्ने गरेको पाइएपछि मुख्यमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन। वीरगन्जमा भएको एउटा कार्यक्रममा सरिक भएर जनकपुरधाम फर्किने क्रममा मुख्यमन्त्री सिंहले हिजो दिउँसो ३ बजे निजगढका अस्पताल, क्लिनिक र औषधि पसलको आकस्मिक निरीक्षण गरेका थिए।