
समाजवादी प्रेस संगठन नेपालले राजावादी आन्दोलनको समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेको छ। भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको रहस्यमय हत्या गरिएको भन्दै संगठनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न र सहिद घोषणा गर्न सरकारसँग माग गरेको हो।
‘भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ। यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै मानव अधिकारमाथिको हमलाको निर्लज्ज उदाहरण हो। हाम्रो संगठन पत्रकार रजकको हत्याको घोर निन्दा र भर्त्सना गर्दछ। उक्त रहस्यमय हत्याको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न, स्व. पत्रकार रजकलाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दछौँ,’ समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष शम्भु श्रेष्ठले भने।
समाजवादी प्रेस संगठन नेपालले रजकको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ। अध्यक्ष श्रेष्ठको नेतृत्वमा संगठनका पदाधिकारीले उक्त रकम शनिबार रजकको परिवारलाई भेटेर हस्तान्तरण गरेका छन्।
आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले समाजवादी प्रेस संगठन नेपाल पत्रकारको हकहित र भौतिक सुरक्षाका निम्ति संवेदनशील रहेको बताए। पत्रकारको सुख, दुःखमा संगठन, सदैव साथसाथै हुने उनले बताएका छन्। ‘लोकतान्त्रिक मुलुकमा समाचार संकलनको क्रममा पत्रकार मारिनुपर्ने विडम्बनापूर्ण स्थिति भोग्न हामी बाध्य भएका छौँ। राज्य र आन्दोलनकारी दुवैको निसानामा पत्रकार पर्दै आएका छन्। समाचार संकलनकै क्रममा पत्रकार मारिनुपर्ने अवस्थाले भयावह स्थिति चित्रित गर्छ,’ अध्यक्ष श्रेष्ठले भनेका छन्।