१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Friday, 18 April, 2025
२o८१ चैत ३० शनिबार १६:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजावादीमाथि खनिए प्रधानमन्त्री ओली : ठुला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरर भाग्दै थिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार १६:२८:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजावादी आन्दोलनकारीसँग खनिएका छन्। गृहजिल्ला झापाको दमकमा भएको नेकपा एमालेको जागरणसभामा उनी राजावादी र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि खनिएका हुन्। प्रधानमन्त्री ओलीले राजा फर्काउने आन्दोलन बैंकको ऋण नतिर्नेले जनता भड्काएर आफ्नो दुनो सोझ्याउन गरेको आरोप लगाए ।

राजावादी आन्दोलनको हर्कत १५ चैतमा काठमाडौंको तीनकुनेमा देखिएको बताए। जनताले मिल्काएर फ्याँकेको राजतन्त्र फेरि फर्कन नसक्ने बताए। ‘दुई/चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौँ भन्दा फुरुक्क परेर गाडीको हुटमाथि हत हल्लाउँदै हिँडेको पनि देखियो। उल्किन पनि कति उल्किएको? यिनको शैली के हो भन्ने १५ गते देखियो,’ उनले भने, ‘तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौँ भनेका थिए। केको सभा गर्थे, आगजनी गर्दै, तोडफोड गर्दै, ढुंगामुडा गर्दै, घर फोड्दै, उद्योगमा आगो लगाउँदै, अरूका पसल लुट्दै हिँडे। क्रान्ति गर्दै खुब ठुला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरर भाग्दै गरेका, स्याउ चोरर भाग्दै गरेका, औषधि कारखानामा आगो लगाउँदै गरेका देखियो यस्ताले बनाउँछन् देश?’

राजा ल्याएर आफू मन्त्री बन्ने सपना देखेकाहरूले यस्तो हर्कत गरेको उनको भनाइ थियो।   ‘राजा फर्काउने रे, राजा फर्काएर ती मन्त्री/प्रधानमन्त्री बन्ने रे, तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिक राम्रो हुन्छ,’ ओलीले भने। पछिल्लो समय देशमा अस्थिरता आएका कारण कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपरेको उनले बताए।

राजनीति थाहा नै नभएकाले देश चलाउँछु भन्दै हिँडेका कारण देशमा स्थिरता ल्याउन दुई दल मिलेको बताए। ‘केहीअघिसम्म एउटा लहर चल्यो, ड्रााइभिङ सिक्दै नसिकेकाले म पो राम्रो गाडी चलाउँछु, यो डाइभरले जान्दै जानेन भनेर ड्राइभर हटाउनुपर्छ  भने। डाइभरका सिटमा कहिले नबसेकाहरूले ड्राइभिङ गर्छु भनेकोजस्तो राजनीति भनेको थाहै नभएका, ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम छ,’ उनले भने, ‘जसले जे जानेकै छैन, त्यसले त्यही गर्ने रे। त्यस्ता तत्व सक्रिय भए। राजनीति अस्थिर भएपछि अनेक खालका तत्व निस्किए।’

देशमा विकासको क्रम केही रोकिएकाले त्यसलाई अगाडि बढाउन दुई दल मिलेर सरकार बनाएको उनले बताए। ‘देशमा रोकिएको विकासको क्रमलाई अघि बढाउन इतिहास बोकेको कांग्रेस, एमालेजस्ता प्रमुख र इतिहासमा योगदान गरेका पार्टीहरू मिलेर सरकार बनाएका छौँ। अचानक उम्रिएर धाकधक्कु लगाएर हिँडेका पार्टी हैनन्। इतिहास बोकेका पार्टी मिलेर देशमा स्थायित्व ल्याउने अठोटका साथ अघि बढेको छ,’ उनले भने, ‘अब देशको स्थितिमा सुधार आउनेछ।’

ओलीले नयाँ भन्ने पार्टीको अवस्था पनि देखिएको बताए। ‘नयाँको हालत देखियो। नयाँ कोही बैंकमारा, कोही सहकारीमारा, कोही छ? अनेक प्रकारका देखियो,’ उनले भने, ‘ठुला कुरा गर्ने, हल्ला गर्ने, यथार्थ लुकाउने, कुप्रचार गर्ने, जथाभावी बोल्ने अनि देश बनाउँछु भनेर धाक लगाउने? कोही पनि अलमलमा नपर्नुहोला।’
अहिले देश स्थिरता, स्थायित्वतर्फ अघि बढेको प्रधानमन्त्री ओलीको दाबी छ।