१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Friday, 18 April, 2025
शान्ति तामाङ काठमाडाैं
२o८१ चैत ३० शनिबार १o:१८:oo
Read Time : > 7 मिनेट
फिचर प्रिन्ट संस्करण

ढुंगालाई मूर्ति बनाउनेहरू... 

Read Time : > 7 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार १o:१८:oo

 

ललितपुरको पाटन दरबार क्षेत्र पार गर्दै गर्दा आसपासबाट टकटक, टिकटिक आवाज आउँछ । दरबार घुम्न आउनेलाई यो आवाजले कुतूहल पनि जगाउँछ । तर, यो आवाजबारे भेउ पाइहाल्न सक्दैनन् । यी आवाज ढुंगालाई मूर्ति बनाउँदा निस्किएका हुन् । ढुंगालाई मूर्ति बनाइरहेकाहरूले निकालेका आवाज हुन् । पाटन क्षेत्रका शिल्पकार, बज्राचार्य, शाक्यलगायत समुदायले ढुंगाको मूर्ति बनाएर वर्षाैं बिताएका छन् । अझ भनौँ, पुस्तौँ बिताइसकेका छन् । यही पेसाबाट जीवन धानेका छन् । आफू मात्र बाँचेका छैनन्, अरूलाई पनि रोजगारी दिइरहेका छन् । 

ढुंगाका मूर्ति बनाउने तेस्रो पुस्ताका त्रिरत्न 
मूर्ति बनाउने पेसालाई जीविकोपार्जनको माध्यम बनाइरहेका छन्, भिन्छेबहालका त्रिरत्न बज्राचार्यले । उनी ढुंगाको मूर्ति बनाउने तेस्रो पुस्ता हुन् । यो पेसा उनका हजुरबुबाले सुरु गरेका थिए । त्यसपछि उनको बुबा र दाइसमेत यो पेसामा आबद्ध छन् । उनले नै यो पेसा अँगालेको २५ वर्ष नाघिसकेको छ । ‘हजुरबुबाले मूर्ति बनाउन सुरु गर्नुभएको हो । उहाँपछि बुबा र दाइ यही पेसामा जोडिनुभयो । मैले पनि थालेको छु,’ मूर्तिकार बज्राचार्यले भने, ‘यो हाम्रो पुस्तैनी पेसा हो । परिवार नै यही पेसामा भएपछि सजिलो भयो । त्यसैले यतै लागेँ ।’ 

ढुंगाको मूर्ति बनाउनका लागि सुरुवाती चरणमा ढुंगा काट्ने र स्केच बनाउने काम बुबा र दाइले गर्छन् । त्यसपछि उनी भने ढुंगामा बुट्टा भर्छन् । हामीले भेट्दा उनी भगवतीको मूर्तिमा बुट्टा भर्दै थिए । १२ इन्चको यो मूर्तिले आकार पाएपछि १० हजार मूल्य प्राप्त गर्छ । जुन ढुंगा उनीहरूले करिब १५ सयमा किनेका थिए । मूर्ति बनाउने ढुंगा दक्षिणकाली र काभ्रेपलाञ्चोकको रोशीखोलाबाट ल्याउने गरेको उनले बताए । 

ढुंगाले मूर्तिको आकार पाउँदाको क्षण निकै आनन्ददायी र सबै भुलेर ध्यान बसेजस्तो हुने उनी बताउँछन् । ‘मूर्ति बनाउन ढुंगा काटिन्छ, स्केच बनाइन्छ, त्यसपछि मात्र बुट्टा भरिन्छ,’ उनले भने, ‘काम गर्दै जाँदा ध्यान बसेजस्तै हुन्छ । गर्मी, जाडो केही फिल हुन्न । बनाउँदै जाँदा मूर्तिको आकारमा रूपान्तरण भएपछि आनन्द आउँछ । आफूले बनाएका मूर्ति पुजिँदा त झनै खुसी लाग्छ ।’ वर्षौंदेखि यो पेसामा रहेका उनले कति मूर्ति बनाए यादै छैन । उनले बनाएका मूर्ति लाख रुपैयाँसम्ममा बिक्री भएका छन् । यही पेसाबाट उनले परिवार चलाएका छन् । 

पछिल्लो समय यहाँका शाक्य र बज्राचार्यसँग काम सिकेर धेरैले ढुंगाको मूर्तिकलालाई व्यवसाय बनाएका छन् । जसका कारण पहिलेजस्तो बजार एकलौटी नभए पनि जीवन चलाउनै भने गाह्रो छैन । ‘पहिले यो पेसामा लाग्ने मानिस धेरै नभएकाले माग बढी थियो । अहिले यो पेसामा लाग्नेहरूको संख्या बढेकाले माग कम हुन थालेको छ,’ उनले भने । पाटनको सुन्धारास्थित पसलबाट खासै मूर्ति बिक्री नभए पनि बागडोलस्थित कारखानाबाट धेरै बिक्री हुने गरेको उनले बताए । उनका अनुसार गणेश, महादेवको मूर्ति धेरै बिक्री हुन्छ । सबैभन्दा महँगोमा चैत्य बिक्री गरेको उनले सुनाए । चैत्यको मूल्य चारदेखि पाँच लाखसम्म पर्छ । घरबाटै मूर्ति बनाउन सिकेर पेसा बनाएका बज्राचार्यले अब अर्को पेसा अँगाल्नेबारे सोचेका छैनन् । उनलाई अब अन्त मोडिनु पनि छैन । तर, मूर्ति बनाउने ढुंगाको अभाव र धुलोका कारण स्वास्थ्यमा समस्या भएकाले निरन्तरता दिने–नदिनेमा उनी दोधारमा छन् । ‘मूर्ति बनाउन प्रयोग हुने ढुंगा पाउन मुस्किल छ,’ उनले भने, ‘चस्मा प्रयोग गरेर काम गर्दा पनि धुलोले आँखा रातो हुनेजस्ता समस्या हुन्छन् ।’

१८ वर्षदेखि मूर्ति बनाउँदै अवाले 
बज्राचार्यजस्तै तुलसी अवाले १८ वर्षदेखि यही पेसामा छन् । उनले नातेदार न्हुच्छेबहादुर महर्जनबाट मूर्ति बनाउन सिके । अहिले यसलाई नै पेसा बनाइरहेका छन् । महर्जनले भने पुस्तैनी पेसाको रूपमा काम गरिरहेका शाक्य, बज्राचार्यहरूबाटै काम सिकेर व्यवसायमा रूपान्तरण गरेका थिए । त्यसपछि अवालेलाई पनि मूर्ति बनाउन सिकाएका थिए । हाल न्हुच्छेबहादुरसँग मिलेर उनले सुन्धारामा बाबु स्टोन ह्यान्डीक्राफ्ट सञ्चालन गरिरहेका छन् । गणेश र सूर्यको मूर्ति बनाएर उनले काम थालेका थिए । त्यसपछि कति र कुन–कुन मूर्ति बनाए गन्ती गरेका छैनन् । ‘नातेदार भाइले मूर्ति बनाउन सुरु गरेका थिए । मैले उहाँबाट नै सिकेर काम थालेको हुँ । अहिले यही पेसामा रमाइरहेको छु,’ उनले भने ।  अहिले यही पेसाले परिवार चलाउन सहज बनाएको उनी बताउँछन् । 

उनीहरूको मुख्य कार्यस्थल सातदोबाटोस्थित कारखानामा भए पनि सुन्धाराबाट मूर्ति बिक्री हुन्छ । उनीहरूको पसलबाट सबैभन्दा धेरै गणेशको मूर्ति बिक्री हुने गरेको छ । ‘सबैभन्दा धेरै गणेशको मूर्तिका लागि अर्डर आउँछ । जुनसुकै पूजाको सुरुवात गणेशपूजनबाट हुन्छ । त्यही भएर होला गणेशको मूर्ति धेरै बिक्री हुन्छ,’ उनले भने । उनीहरूले पनि मूर्ति बनाउने ढुंगा रोशीखोलाबाटै ल्याउँछन् । ढुंगाको साइजअनुसार मूर्तिको मूल्य निर्धारण हुन्छ । अहिलेसम्म सबैभन्दा धेरै मूल्य चैत्य बिक्रीबाट प्राप्त भएको छ । जुन साढे चार लाख रुपैयाँमा बिक्री भएको थियो । सुतेका नारायणको मूर्ति ४० हजार, सरस्वतीको १३ हजार मूल्य तोकेर बिक्रीमा राखेका छन् । उनीहरूले साइजअनुसार मूर्तिको मूल्य तोक्छन् । १५ सयको ढुंगाको मूर्तिबाट १० देखि १५ हजार रुपैयाँ प्राप्त गर्छन् । 

उनले सुरुवातमा काम गर्दा राम्रै आम्दानी गरे पनि अहिले भने फाट्टफुट्ट मात्र कारोबार हुने गरेको बताए । तैपनि, कृषिमा आश्रित उनको परिवारलाई यही पेसाले जीवन धान्ने बनाएको छ । सुरुवाती दिनमा उनीहरूले १२ जनालाई रोजगारी दिएका थिए । पछिल्लो समय यो पेसामा धेरै मानिस आउन थालेर प्रतिस्पर्धा बढेपछि कामदार घटेर पाँचजनामा सीमित भएका छन् । मूर्ति मात्र होइन, उनीहरू सालिक पनि बनाउँछन् । धेरै मूर्ति र सालिक निर्माण गरिसकेका उनले कति मूर्ति र सालिक बनाए सम्झनै छैन । १५ वर्षअघि राजविराजमा राख्नका लागि नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको सालिक उनीहरूकै टोलीले निर्माण गरेको थियो । सिंहबाहेक उनीहरूले धेरैजनाको सालिक निर्माण गरिसकेका छन् । 

आगामी पुस्ता यो पेसामा नरहने देखे पनि उनले भने विकल्प सोचेका छैनन् । ‘योबाहेक अरू काम गर्न आउँदैन । त्यसैले जति गर्छु, यही काम गर्छु,’ उनले भने, ‘राम्रो काम गर्ने मान्छे पाउन गाह्रै छ । धुलो धेरै उड्ने, आँखा, छालामा समस्या आउने भएकाले काम गर्ने मान्छे पाइँदैन ।’ उनका अनुसार अहिले स्थानीयले पनि पेसा छोड्दै गएका छन् । वरपरका मानिसका दुई चारवटाबाहेक उपत्यकाबाहिरबाट आउनेले व्यवसाय चलाउन थालेका छन् । स्थानीयहरू यो पेसाबाट विस्थापित हुँदै गए पनि सहज रूपमा ढुंगा उपलब्ध हुने हो भने वैदेशिक रोजगारीका लागि लाग्ने लाइन कम हुने उनी बताउँछन् ।

मूर्तिकलामा रमाउँदै निर्मला 
सुन्धाराबाहिर कारखाना भएका धेरै ठाउँमा पुरुष मूर्तिकार छन् । अर्डर लिन र सामान दिन पसलमा बस्ने पनि अधिकांश पुरुष नै छन् । तर, सुन्धारा एउटा पसल भने निर्मला श्रेष्ठले सम्हालिरहेकी छिन् । उनका श्रीमान् सुजित श्रेष्ठले भने सानागाउँको कारखाना हेर्छन् । उनले पसल मात्रै सम्हालेकी छैनन्, मूर्ति बनाउनसमेत थालेकी छिन् । पाँच वर्षअघिसम्म अरूकै लागि काम गर्ने सुजितले श्रीमतीको आड पाएपछि आफैँले व्यवसाय सुरु गरेका हुन् । पाँच वर्षदेखि श्रीमान्–श्रीमती मिलेर मूर्ति बनाएर बेच्न थालेका छन् । सुरुवाती दिनमा निर्मलाको काम पसलमा बस्ने, मूर्ति बेच्ने र मूर्तिको अर्डर लिने हुन्थ्यो । अचेल भने उनी आफैँ निर्माणमा सक्रिय छिन् । 

मंगलबार (१९ चैत) ग्राहकलाई बुझाउनुपर्ने शिलापत्रको काम उनले लगभग अन्तिम चरणमा पुर्‍याइसकेकी थिइन् । उनले बनाएको उक्त शिलापत्रको मूल्य ३५ सय रहेको छ । सुरुवाती दिनमा समय कटाउन मूर्ति निर्माणमा हात हालेकी उनी अहिले मूर्तिसम्बन्धी सबैजसो काम गर्न सक्ने भएकी छिन् । अहिले उनलाई शिलापत्र बनाउन, मण्डला बनाउन र सबैजसो मूर्तिमा बुट्टा कुँद्न आउँछ । यी सबै काम उनले श्रीमान् सुजितबाटै सिकेकी हुन् । ‘सुरु–सुरुमा पसलमा बस्दाबस्दा अल्छी लाग्न थाल्यो । कति बसिराख्ने भनेर श्रीमान्लाई सुनाएँ । मैले इच्छा देखाएपछि श्रीमान्ले सिकाउन थाल्नुभयो । अहिले त धेरै काम गर्न सक्छु,’ उनले भनिन्, ‘सुरुमा त मेसिन समाउनसमेत डर लाग्थ्यो । बिस्तारै त्यही मेसीनले ढुंगामा बुट्टा हाल्न सक्ने भएँ । मण्डला बनाउन सक्ने भएँ ।’ उनले बनाएको मण्डला एक हजारदेखि १२ सयसम्ममा बिक्री हुन्छ । बुट्टा भरेको मूर्तिले ६० हजारसम्म पाउँछ । आफूले बुट्टा भरेका मूर्तिले राम्रो पैसा पाउन थालेपछि जाँगर चल्न थालेको उनले बताइन् । 

पछिल्लो समय ढुंगाका मूर्तिको बजार खस्किन थालेको उनको अनुभव छ । ‘अचेल व्यापार एकदमै स्लो छ,’ उनले भनिन्, ‘अहिलेसम्म बाबु पढाउन र घर व्यवहार चलाउन पुगेको छ । बचतचाहिँ गर्न सकेको छैन । कहिलेकाहीँ त पसल भाडा तिर्न पनि मुस्किल हुन्छ ।’

अर्डर लिने र सामान बेच्ने पसल सुन्धारमा भए पनि उनीहरूको मुख्य काम भने इमाडोल सानागाउँमा हुन्छ । यहाँ शिलापत्र बनाउने, सालिक बनाउनेदेखि सबै काम हुन्छ । सुन्धारास्थित उनको पसलमा सबैभन्दा महँगो मूर्ति गौतम बुद्धको छ । जसको मूल्य ६० हजार रहेको छ । योबाहेक पसलमा अरू थुप्रै मूर्ति बिक्रीका लागि राखिएका छन् । सुरुवाती दिनमा निर्मलालाई आफ्नै पसलमा भएको मूर्तिको नामसमेत थाहा थिएन । ‘पहिला–पहिला पसलमै भएका मूर्ति पनि चिन्दैनथेँ । नाम थाहा नभएरै कति ग्राहकलाई फर्काइदिन्थेँ । बस्दाबस्दै सबै चिन्ने भएँ,’ उनले भनिन् । 

मूर्तिकलामै भविष्य कोर्दै सुजन 
पाटनका स्थानीयको पुस्तैनी पेसाका रूपमा परिचित मूर्तिकला अचेल हस्तान्तरण हुँदै मधेशका सुजन राईसम्म पुगेको छ । भर्खर २० कटेका सिराहाका सुजनका धेरै साथी वैदेशिक रोजगारी र अध्ययनका लागि भाैँतारिइरहेका छन् । सुजन भने यही पेसामा केही गर्ने गरी कस्सिएका छन् । तीन वर्ष मात्र भयो, सुजनले मूर्ति बनाउन थालेको । तीन वर्षेमै उनले थुप्रै देवीदेवताको मूर्ति निर्माण गरिसकेका छन् । उनले गणेश, भैरव, लक्ष्मी, शिव, हनुमान, विष्णुको मूर्ति बनाइसकेको बताए । 
गणेशको मूर्तिमा बुट्टा भर्दै गरेका उनले मामा अर्जुन राईबाट काम सिकेको बताए । उनी काम गर्दै गरेको एआर स्टोन ह्यान्डिक्राफ्ट मामाकै पसल हो । ‘१२ कक्षा पढ्दै गर्दा मूर्ति बनाउन थालेको हुँ । फुर्सदको समयमा मामाबाट मूर्ति बनाउन सिकेको हुँ,’ राईले भने, ‘सुरुमा दक्षिणकालीको मूर्तिमा बुट्टा हालेर काम सुरु गरेको हो । सुरुवाती दिनमा ढुंगा मिलाउने, आकारमा ल्याउनेजस्ता काम गर्थें ।’

उनी अचेल मूर्तिकलालाई नै व्यवसाय बनाउने कि भनेर सोच्न थालिसकेका छन् । ‘राम्रो लागेर नै यो काम सुरु गरेको हुँ । आफ्नै इच्छाले काम सुरु गरेकाले इन्जोय गरिरहेको छु,’ उनले भने, ‘अहिलेसम्म विदेश जाने योजना छैन । देशको हालत त यस्तै छ । तैपनि, नेपालमै केही व्यवसाय गर्ने सोच बनाएको छु । विदेश जाने कुरा दिमागमा आएको छैन ।’ 

सुरुवाती चरणमा मूर्तिकलामा पैसा नहुने भए पनि बिस्तारै पैसा कमाउन सकिने उनले देखेका छन् । उनले बनाएको ढुंगाको मूर्तिहरूले अहिले हजार रुपैयाँ प्राप्त गरिरहे पनि मामाले बनाएको मूर्तिले लाख रुपैयाँसम्म पाएको देखेका छन् । उनले बनाइरहेको गणेशको १५ इन्चको मूर्तिले पनि करिब आठ हजार पाउने पक्का छ । ‘सुरुमा पैसा हुँदैन, केही समयपछि पैसा हुन थाल्छ । ठेक्काअनुसार मूर्ति निर्माण हुने भएकाले बिस्तारै पैसा आउन थाल्छ । तर, आफ्नो क्षमताको पनि विकास गर्नुपर्छ,’ उनले भने । काम सुरु गरेको तीन वर्षमै उनी सबैजसो मूर्ति बनाउन सक्ने भइसकेका छन् । स्टोन ह्यान्डिक्राफ्टको बजार राम्रै रहेको उनी बताउँछन् । ‘मैले भर्खरभर्खरै काम सुरु गरेको हुँ । मैले बनाएको मूर्तिले कतिसम्म पायो भन्ने जानकारी छैन । तर, राम्रो मूर्तिले लाखसम्म पाउँछ । यो पेसा मात्रै नभएर हाम्रो संस्कृति पनि हो । यसलाई अगाडि बढाउनुपर्छ,’ राईले भने । उनीहरूसँग अहिले सबैभन्दा महँगो मूल्यको दुई फिटको गणेशको मूर्ति छ । जसको मुख्य ४० देखि ६० हजारसम्म पर्छ । उनीहरूको कारखाना भने बाफलमा छ । 

नेपाल हस्तकला महासंघका उपाध्यक्ष नवीन शाक्यका अनुसार स्टोन ह्यान्डिक्राफ्टको क्षेत्रमा नेवाः समुदाय र गैरनेवाः समुदायका गरी दुई सय परिवार आश्रित छन् । ‘यो क्षेत्रमा करिब दुई सय परिवार आश्रित छन् । सुरुवाती दिनमा नेवाः समुदायका शिल्पकारहरूले स्टोन ह्यान्डिक्राफ्टका काम सुुरु गरे पनि उनीहरूले निरन्तरता नदिएपछि शाक्य, बज्राचार्यले यो क्षेत्र सम्हाले । अहिले यीबाहेकका समुदाय पनि संलग्न छन् । यसले रोजजगारी सिर्जना त गरेको छ । तर गुणस्तर भने खस्किएको गुनासा आउँछन्,’ शाक्यले भने । 

मूर्ति बनाउन कस्तो ढुंगा चाहिन्छ ?
स्टोन ह्यान्डिक्राफ्टको लागि कालो र साह्रो खालको ढुंगा आवश्यक हुन्छ । यस्तो ढुंगाबाट बनाइएको मूर्ति अन्यबाट बनाइएको भन्दा गुणस्तरीय हुन्छ । यस्तो ढुंगा पहिले मच्छेगाउँ, बल्खुको सरस्वती मन्दिर आसपास पाइन्थ्यो । अहिले दक्षिणकालीको चाल्नाखेल, ललितपुरको लेले, काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमा पाइन्छ । ती क्षेत्रमा पाइने ढुंगा पनि धेरैजसो पर्खाल लगाउन प्रयोग हुँदै आएको छ । यस्तो ढुंगालाई मुर्ति बनाउनकै लागि प्राथमिकता दिने हो भने धेरै फाइदा हुन्छ । 

मौलिक उत्पादनको मूल्य बुझ्नुपर्‍यो : नवीन शाक्य, उपाध्यक्ष, नेपाल हस्तकला महासंघ
स्टोन ह्यान्डिक्राफ्ट हाम्रो मौलिक उत्पादन हो, जुन निर्यातयोग्य छ । यस क्षेत्रले आर्थिक उन्नतिका लागि काम गरिरहेको छ । व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग गरिरहेको छ । राज्यले यसलाई प्रवर्द्धन गर्नुपर्नेमा त्यस्तो भइरहेको छैन । स्टोन ह्यान्डिक्राफ्टको क्षेत्रमा कच्चा पदार्थको सबैभन्दा ठुलो अभाव छ । आवश्यक कच्चा पदार्थ खनिज, पहाड, वन र पर्यावरणसँग सम्बन्धित हुन्छ । पहाड फोरेर कच्चा पदार्थ निकाल्नुपर्ने हुन्छ । त्यसलाई उत्खनन गर्दा वातावरणलाई प्रभाव पार्छ भनेर सरकारले उत्खनन रोकेको छ । तर, त्यस्तो होइन । प्राकृतिक स्रोत भन्ने कुरा उचित रूपमा प्रयोग गर्न सकिए पो रिजेनेरेट हुन्छ । देशभित्रै भएको कच्चा पदार्थलाई सिस्टममा राखेर प्रयोग गर्न दिने हो भने रोजगारी र समृद्धिमा सहयोग पुग्छ । स्टोन ह्यान्डिक्राफ्टको हामीसँग स्वदेश र विदेश गरी दुई मार्केट छन् । पहिला–पहिला धार्मिक प्रयोजनका लागि मूर्ति बनाइन्थ्यो । अहिले घर, होटलहरूमा समेत हाम्रा सामान प्रयोग हुन्छन् । विदेशमा पनि यस्ता हस्तकलाको धेरै माग छ । तर, आवश्यक कच्चा पदार्थको अभावले मागअनुसार काम भइरहेको छैन । त्यसैले वनको निश्चित क्षेत्र तोकेर हाम्रो स्थानीय सिपलाई प्रवर्द्धन गर्न सरकारले ध्यान दिनुपर्छ । म आफैँ ढुंगाको अभावमा यो पेसाबाट पलायन भएको हुँ । जसका कारण मेरो सिप हराउँदै छ । र, हस्तान्तरण हुने सम्भावना कम छ । यो विडम्बना हो । हामीले यसका लागि संघीय सरकार, प्रदेश सरकारसँग पहलका लागि माग गरिरहेका छौँ । कच्चा पदार्थको समस्या समाधान गरौँ भनिरहेका छौँ । सरकारले सुन्छ तर काम हुँदैन । महासंघले पनि दबाबमूलक काम गरिरहेको छ । आवश्यक नीति परिवर्तन गर्नुपर्‍यो । हाम्रो मौलिक उत्पादनको मूल्य बुझ्नुपर्‍यो ।