
एरो फर्मास्युटिकल्स लिमिटेडले प्रतिसेयर अंकित मूल्य रु. १०० दरको १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
सो सम्बन्धमा बिहीबार कम्पनी र क्यापिटलबिच सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा भएको कार्यक्रममा फर्मास्युटिकल्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धवप्रसाद मैनाली र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
अधिकृत पुँजी एक अर्ब रुपैयाँ र जारी पुँजी ७५ करोड रुपैयाँ रहेको यस फर्मास्युटिकल्सको कर्पोरेट अफिस काठमाडौं महानगरपालिका– ३ बसुन्धरामा छ भने भक्तपुरको सुडालमा औषधि उत्पादन कारखाना छ। विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूद्वारा प्रवर्द्धित यस कम्पनी आर्थिक वर्ष ०७१/७२ मा प्रालिको रूपमा स्थापना भई आर्थिक वर्ष ०८०/८१ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा परिणत भएको हो।
विगत पाँच वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट्स, क्याप्सुल्स, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राई सस्पेन्सन र पाउडर औषधिहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएकोमा हाल १०७ ब्रान्डका औषधिहरू बजारमा रहेका कम्पनीले जनाएको छ। कम्पनीले विशेष रूपमा उच्च रक्तचाप र मधुमेहमा प्रयोग हुने, एन्टिबायोटिक्सलगायतका औषधिहरूको उत्पादन गर्छ। कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधिहरूको पनि उत्पादन सुरु गरेको छ।
निकट भविष्यमा अन्य मुलुकमा पनि निर्यात गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार WHO GMP प्रमाणपत्र हासिल गरेको कम्पनीले जनाएको छ।