१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
राजीव साह
Invalid date format १५:३९:oo
Read Time : > 5 मिनेट
ब्लग डिजिटल संस्करण

कारागार भ्रमणको अनुभव

Read Time : > 5 मिनेट
राजीव साह
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

कैदीजीवन, यो शब्द सुन्दा नै मनमा एकप्रकारको डर र नकारात्मक भावना उत्पन्न हुन्छ । समाजबाट अलग, चार पर्खालभित्र सीमित, स्वतन्त्रता हरण भएको जीवन कस्तो होला भन्ने कल्पना गर्न पनि गाह्रो हुन्छ। 

तर, कानुनको विद्यार्थी भएको नाताले, जब मैले कारागारभित्र कैदीहरूको जीवनलाई नजिकबाट नियाल्ने मौका पाएँ, तब सोचेभन्दा धेरै फरक अनुभव बटुलेँ। त्यहाँ मैले देखेँ जीवनको पीडा, अपराध गरिसकेपछिको पश्चात्ताप, फैसलाको ढिलाइले भोगिरहेको कष्ट र आफूलाई निर्दोष मान्नेहरूको व्यथा । यी सबै दृश्यहरूले मेरो मनमा धेरै प्रश्नह उब्जाए र यस विषयमा सोच्न र लेख्न बाध्य तुल्यायो।

कारागारभित्रको वातावरण बाहिरबाट कल्पना गरेभन्दा धेरै जटिल थियो। त्यहाँ विभिन्न पृष्ठभूमि र अपराधका कारण थुनिएका मानिस थिए। कोही आवेशमा आएर गल्ती गरेका थिए, कोही परिस्थितिको सिकार भएका थिए, त कोही साँच्चै नै जघन्य अपराधमा संलग्न थिए। तर, सबैको आँखामा एउटा साझा पीडा देखिन्थ्यो– आफ्नो गल्तीको भारी र स्वतन्त्र जीवन गुमाएको पश्चात्ताप।

धेरै कैदीहरू आफ्नो विगतका कर्म सम्झेर पछुताइरहेका थिए। उनीहरू फेरि सामान्य जीवनमा फर्केर आफ्ना गल्तीहरू सुधार्न चाहन्थे, तर कारागारको कठोर नियम र समाजको नकारात्मक दृष्टिकोणले उनीहरूको आशालाई कमजोर बनाइरहेको थियो।

सबैभन्दा मार्मिक अनुभव त ती कैदीहरूको व्यथा सुनेर भयो जो आफूलाई निर्दोष दाबी गरिरहेका थिए। उनीहरू वर्षौँदेखि फैसलाको पर्खाइमा कारागारमा बसिरहेका थिए। प्रमाणको अभाव वा कमजोर अनुसन्धानका कारण उनीहरूको मुद्दा टुंगोमा पुग्न सकेको थिएन। उनीहरूको आँखामा न्यायको लागि एउटा गहिरो तृष्णा थियो।

परिवारका सदस्यहरूले उनीहरूलाई भेट्न आउँदा उनीहरू भावुक हुन्थे र आफू निर्दोष भएको प्रमाण दिन नसकेकोमा दुःखी हुन्थे। फैसलामा भएको ढिलाइले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा नराम्रो असर पारेको थियो।

कानुनको विद्यार्थीको हैसियतले यी दृश्यहरूले मेरो मनमा धेरै प्रश्न उब्जाए। के हाम्रो न्यायप्रणाली साँच्चै नै सबैका लागि समान छ ? के निर्दोष व्यक्तिहरूले अनावश्यक दुःख भोग्नुपरेको छैन ? फैसलामा हुने ढिलाइले पीडित र आरोपित दुवैलाई कस्तो असर पार्छ होला ? के कारागार केवल सजाय दिने ठाउँ मात्र हो वा यो सुधारगृह पनि हुनुपर्छ ? अपराध गरिसकेका व्यक्तिहरूलाई समाजमा पुनर्स्थापित गर्न के गर्न सकिन्छ ?

आज यो लेख लेख्दै गर्दा मेरो मनमा ती कैदीहरूको अनुहार घुमिरहेको छ। उनीहरूको पीडा र व्यथाले मलाई कानुनको विद्यार्थीको रूपमा थप जिम्मेवार बनाएको छ। म भविष्यमा यस्तो न्याय प्रणालीको वकालत गर्नेछु जहाँ कसैले पनि अन्याय सहनु नपरोस् र सबैले न्यायको अनुभूति गर्न पाऊन्।

मैले महसुस गरेँ कि कानुन केवल नियम र दफाको संग्रह मात्र होइन, यो त मानिसहरूको जीवनसँग जोडिएको विषय हो। न्याय प्रणालीलाई अझ प्रभावकारी, निष्पक्ष र समयसापेक्ष बनाउन आवश्यक छ। निर्दोष व्यक्तिहरूले अनावश्यक दुःख नपाउन् र अपराध गरिसकेका व्यक्तिहरूलाई पश्चात्ताप गर्ने र सुध्रने मौका मिलोस् भन्ने कुरामा ध्यान दिनुपर्छ। कैदी जीवनको यो सोचेभन्दा फरक अनुभव मेरो जीवनको एक महत्त्वपूर्ण पाठ बनेर रहनेछ।

बाहिरबाट हेर्दा कारागार एउटा कठोर र निराशलाग्दो संरचना मात्र देखिन्छ। तर, भित्र पस्दा, त्यहाँ एउटा छुट्टै संसार भेटियो। मैले सोचेको थिएँ कि कैदीहरू निराश, उदास र आक्रोशित होलान्। तर, वास्तविकतामा, त्यहाँ विभिन्न उमेर समूह र पृष्ठभूमिका मानिस थिए, जसले आफ्नो दैनिक जीवनलाई कुनै न कुनै तरिकाले अगाडि बढाइरहेका थिए। कोही काममा व्यस्त थिए, कोही पढ्दै थिए र कोही आपसमा गफिँदै थिए। निःसन्देह कैदको पीडा उनीहरूको अनुहारमा झल्कन्थ्यो। आफ्नो परिवार र समाजबाट टाढा रहनुको पीडा, स्वतन्त्रता गुमाउनुको पीडा र भविष्यको अनिश्चितताको पीडा मैले उनीहरूको आँखामा स्पष्ट देखेँ। तर, त्यसको बाबजुद पनि, उनीहरूमा एकप्रकारको जीवन्तता र आशा जीवित रहेको मैले महसुस गरेँ।

सायद एक–अर्काको साथ र सहयोगले उनीहरूलाई त्यो पीडा सहन शक्ति दिइरहेको थियो। मैले सुनेको र देखेको चित्रणमा भन्दा त्यहाँ सरसफाइ र व्यवस्थापनको प्रयास गरिएको देखिन्थ्यो। सीमित स्रोतसाधनका बाबजुद पनि कैदीहरूलाई आधारभूत सुविधा उपलब्ध गराउन खोजिएको थियो। 

तर, यो पनि सत्य हो कि क्षमताभन्दा बढी कैदी हुँदा धेरै समस्या छन्। ठाउँको अभाव, स्वास्थ्य सेवाको सीमितता र पुनर्स्थापनाका कार्यक्रमहरूको कमीजस्ता चुनौतीहरू स्पष्ट रूपमा देखिन्थे। सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले कैदीहरूमा न्यायको बलियो अपेक्षा पाएँ। उनीहरूमध्ये धेरैले आफूले पाएको सजायलाई अन्यायपूर्ण ठान्थे, वा आफ्नो मुद्दाको पुनरावलोकनको आशामा थिए। 

उनीहरू न्याय प्रणालीप्रति पूर्ण रूपमा निराश भने थिएनन्, बरु एउटा निष्पक्ष सुनुवाइ र आफ्नो पक्ष राख्ने मौकाको प्रतीक्षामा थिए। उनीहरूलाई थाहा थियो कि उनीहरूले गल्ती गरेका छन्, तर उनीहरू आफ्नो गल्ती सुधारेर समाजमा पुनर्स्थापित हुन चाहन्थे। उनीहरूको आँखामा भविष्यको लागि एउटा धूमिल आशाको किरण थियो।

जिल्ला कारागार सिन्धुलीमा महिला र पुरुष गरी पाँच सयभन्दा बढीको कैदीहरू थिए। त्यसमा महिला कैदीको तुलनामा पुरुष कैदीहरूको संख्या धेरै र महिला कैदीको संख्या मात्र ५० जति थियो। भित्र जाने अनुमति पाएपछि हामीलाई सुरक्षा दिनका निमित्त कम्तीमा २० जनाभन्दा बढीको सुरक्षाकर्मी घेरा बनाएर एउटा सुरक्षित कोठामा लगियो । जसपछि ५० भन्दा बढी पुरुष र ३० भन्दा बढी महिला कैदीहरूले आफ्नो पीडा र न्यायका लागि गरिदिने पहलबारे वैतनिक वकिल अधिवक्ता राहुल झा दाइलाई आग्रह गरे । 

सबै कैदीहरूको पालैपालो गरी जब आफ्नो कुरा राखे, तब एउटा कुरा के स्पष्ट भयो भने कैदीहरूमा मुद्दा मामिलाको सूचनाको अभाव रहेछ । किनभने जब वैतनिक वकिल अधिवक्ता राहुल झा दाइले कैदीहरूलाई सोध्नुभयो कि तपाईंलाई म के सहयोग गर्न सक्छु ? तपाईं मबाट के अपेक्षा गर्दै हुनुहुन्छ ? तब त्यहाँ प्रायः सबै मुद्दाको फैसला कहिले भयो ? कैदी पुर्जी पाएको छैन। वर्षदेखि तारिखमा बोलाएको छैन। मसँग राम्रोसँग सोधपुछ नै नगरी कारागारमा पठाएको छ भन्ने प्रश्न राखेका थिए।

ती प्रश्नहरूका सम्बोधन गर्नका निम्ति वैतनिक वकिल राहुल दाइ अधिवक्ताको हैसियतले ‘म तपाईंको तर्फबाट कानुनी उपचारका लागि बहस पैरवी गरिदिनेछु’ भन्ने कुराले उपस्थित कैदीहरूको आँखामा मर्दै गएको कानुन र न्यायप्रतिको आशा र भरोशा जीवित छ भन्ने महसुस गराउन सफल भए।

अदालतमा मुद्दाको चाप बढी भएकाले सामान्य जस्तै अभद्र व्यवहार, नकवजनी चोरी, मानहानि, गालीगलौज, कुटपिट र ठगी मुद्दामा समेत फैसला आउन ढिलाइ भएको देखियाे। अदालतबाट धरौटी खोलिए पनि आर्थिक अवस्था कमजोर भएकाले धरौटी तिर्न नसकेको र वकिलको फी तिर्न असमर्थ रहेकाले गर्दा अलपत्र परी जेलमै बस्न बाध्य भएका छन्। 

न्यायिक क्रियाशीलताका लागि निःशुल्क कानुनी सेवा (नि.का.से) र निःशुल्क न्यायका लागि पक्षलाई मुद्दा गर्दा लाग्ने कोर्ट फी वा दस्तुर आदिको उन्मूलन मात्र नभई व्यक्तिविशेष वा जनसमुदायलाई मर्का परेको वेलामा अदालतमा उजुर गर्न पाइने हकदैयाको व्यवस्था र असहाय पक्षलाई आवश्यक परेको वेलामा उसको तर्फबाट बहस पैरवी गर्ने कानुन व्यवसायी अधिवक्ता राहुल झा दाइले दिइराख्नुभएको योगदानले मैले कानुन र न्यायप्रति हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ। 

कारागारमा राम्रा–नराम्रा दुवै पक्ष देखियो। तर, त्यहाँ कैदीहरूले पर्खालभित्र जीवन बिताउन परे पनि त्यहाँ खेलकुद जस्तै चेस, लुँडो, ब्याडमिन्टन, क्यारेमबोर्ड, फुटबल र भलिबलसमेत खेल्ने व्यवस्था मिलाएको थियो। सीपअनुसारको काम, जस्तै मुढा बनाउने र धागो बनाउने र त्यसबापत उचित रकम पनि पाउँछन्। 

एक कैदीले ‘मलाई बाहिरी जीवनभन्दा पनि यतै राम्रो लाग्न थालेको छ। किनभने यहाँ काम गरेबापत उचित पैसा दिन्छ। र, त्यो पैसा म आफ्नो घर पठाइदिन्छु अनि त्यही पैसाले मेरो घर पनि चल्छ’ भने। अर्का एक कैदीले यतिसम्म भने, ‘आजीवन यहीँ बस्न चाहन्छु। मेरो आफ्नो घर छैन। पहिला भाडामा बस्थेँ। तर, अहिले यो कारागार आफ्नै घरजस्तो लाग्दै छ। समयमा खान–लाउन दिन्छ। बिरामी परेको वेला उपचार गराइदिन्छन्।’

यसबाट अनुमान लगाउन सकिन्छ कि कारागारभित्र सबै अपराधी भए पनि त्यहाँ सबै एक–अर्कासँग मिलिजुली बसिरहेका छन्।  कारागारलाई आफ्नो संसार र कैदीहरूलाई परिवार मानिसकेका छन्। कारागार भ्रमणको क्रममा प्रहरीको सहयोग, व्यवहार र शिष्टाचारले पनि धेरै सहज र सजिलो भयो। यसले ठ्याक्कै कारागारबारे मेरो दृष्टिकोणमा फरक बनाइदियो। 

सिन्धुली कारागारको यो एकदिने भ्रमण मेरा लागि एउटा महत्त्वपूर्ण पाठ थियो। मैले कैदी जीवनको वास्तविकतालाई नजिकबाट बुझ्ने मौका पाएँ। बाहिरबाट गरिने सतही मूल्यांकनभन्दा भित्रको अवस्था धेरै जटिल र मानवीय छ भन्ने मैले अनुभव गरेँ। कैद केवल सजाय मात्र होइन, यो एक व्यक्तिको जीवनको एउटा हिस्सा हो, जहाँ पीडा, आशा र न्यायको अपेक्षा एकसाथ जोडिएका हुन्छन्। जसले मेरो मनमा गहिरो छाप छोडेको छ। यो अनुभवले मलाई न्याय प्रणाली र कारागार सुधारका विषयमा थप सोच्न र बुझ्न प्रेरित गरेको छ।

अन्ततः अशिक्षा र गरिबीको कारणले गर्दा विकसित समाजका व्यक्तिहरू कानुन के हो ? आफ्ना कर्तव्य के हुन् वा कसरी निर्वाह गर्नुपर्छ ? हक–अधिकार हरण भएको वेला कसरी उपचार गर्ने आदि विभिन्न कुराहरूबारे अनविज्ञ हुन्छन्। अदालत र कानुन व्यवसायीले मात्रै तिनीहरूको समस्या समाधान गर्न सक्दैनन्।

उनीहरूलाई सचेत गराउन सामाजिक सेवाबाट प्रेरित संघसंस्था, सरकारी, गैरसरकारी संगठन, अनौपचारिक संगठन सबैले वेलावेलामा घुम्ती टोलीद्वारा कक्षा सञ्चालन गरी कानुनी सल्लाह र सहयोग वा सुझाव जनसाधारणलाई दिनुपर्ने आवश्यकतालाई सम्बोधन गर्ने सक्रियताको कमी देखियो।

चिकित्सा क्षेत्रमा पारामेडिकलजस्तै पारालिगलको अवधारणाले पनि सामाजिक अपराधरूपी रोग उन्मूलन गर्न प्रभावकारी भूमिका खेल्न सक्छन्। यसमा अदालतको क्रियाशीलताले मात्र शान्तिपूर्ण सामाजिक परिवर्तनलाई नेतृत्व दिन सक्छ।

(साह कानुनका विद्यार्थी हुन् ।)