
नेपाल पत्रकार महासंघ मकवानपुरले गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेर पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै ध्यानाकर्षण गराएको हो ।
महासंघले आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई पत्रकार सुरेश रजकको हत्याका विषयमा छानबिन गर्न महासंघ मकवानपुरले माग गरेको छ ।
तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण भएको महासंघको ठहर छ ।
ध्यानाकर्षण पत्रमा पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भएदेखि नै निष्पक्ष छानबिन गरिरहेको बताए । आयोगले चैत १५ को घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उनले बताए । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उनको भनाइ छ ।