
सूर्य नेपाल गल्फ टुर, २०२४/२५ अन्तर्गत सूर्य नेपाल एनपिजिए म्याच–प्लेको उपाधिका लागि नेपालका नम्बर २ गल्फर नीरज तामाङ र धनबहादुर थापा उपाधिका लागि भिड्ने भएका छन् । नीरज र धनबिच बिहीबार ३६ होलको प्रतिस्पर्धा हुनेछ । रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा नीरजले साबिक विजेता दिनेश प्रजापतिलाई ३–२ ले हराउँदै अन्तिम दुईमा स्थान रक्षा गरेका हुन् । यसअघि नीरजले क्वार्टरफाइनलमा रामे मगरलाई ३–२ ले हराएका थिए ।
दिनेशले क्वार्टरफाइनलमा ११औँ वरीयताका तोरणविक्रम शाहीलाई १८औँ होलमा माथ दिएका थिए । तर, सेमिफाइनलमा नीरजसँग हारेपछि उनले तेस्रो स्थानका लागि खेल्नेछन् । दोस्रो सेमिफाइनलमा आठौँ वरीयताका धनबहादुर थापाले चौथो वरीयताका रवि खड्कालाई ३–२ ले माथ दिए । धनले क्वार्टरफाइनलमा अप्रत्याशित नतिजा निकाल्दै नेपाल नम्बर १ गल्फर भुवन नगरकोटीलाई १९औँ होलमा स्तब्ध पारेका थिए ।
१८ होलसम्म खेल बराबरीमा सकिएपछि पहिलो एक्स्ट्रा होलमा धनले जित निकालेका हुन् । यसअघि अन्तिम आठमा रविले प्रदीपकुमार लामालाई ३–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए । रवि र भुवनले बिहीबार तेस्रो स्थानका लागि खेल्नेछन् । सन् २०२३/२४ को अर्डर अफ मेरिटका आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । विजेताले ६० हजार र दोस्रो हुनेले ४२ हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार रुपैयाँ हात पार्नेछन् ।