१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
डा. विजयप्रसाद मिश्र
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २८ बिहीबार o७:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बार एसोसिएसनको अध्यक्षमा मिश्रको  जित सुनिश्चित

५६० मत गन्न बाँकी, प्रतिद्वन्द्वीभन्दा  मिश्र २६ सय ६२ मतले अघि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o७:२२:oo

 नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. विजयप्रसाद मिश्रको जित सुनिश्चित भएको छ । उनी प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छन् । बुधबार अन्तिम समयमा मिश्रको मत चार हजार ८९२ छ भने प्रतिद्वन्द्वी श्रेष्ठले दुई हजार २२९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मिश्र कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको संगठन डिएलए र पिपिएलए गठबन्धनका उम्मेदवार हुन् । श्रेष्ठ भने माओवादीनिकट मानिन्छन् । श्रेष्ठले नेतृत्व गरेको प्यानलमा विपक्षी दलनिकट कानुन व्यवसायी छन् ।

निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौला भन्छन्– २५ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार आउँछ । अब केही मत मात्र गन्न बाँकी छ ।

अध्यक्ष, महासचिव र कोषाध्यक्षका साथै अन्य पदमा पनि सत्तागठबन्धननिकट कानुन व्यवसायी जितनिकट छन् । मतगणनाको तथ्यांक अद्यावधिक गरिरहेका अधिवक्ता जनक साउदले भने, ‘अब ललितपुर जिल्ला बारको ५६० मत गन्न बाँकी छ । त्यो बिहीबार सुरु भएर अन्तिम नतिजा आउँछ ।’ शनिबार सम्पन्न मतदानपछि देशभरका ३५ मतदान केन्द्रको मत आइतबारबाट गन्न सुरु गरिएको हो । कानुन व्यवसायीको छाता संगठन बारको २७औँ कार्यसमितिका लागि ५७ उम्मेदवार थिए । २५ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार आउने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए । अब केही मत मात्र गन्न बाँकी रहेको र नतिजाको औपचारिक घोषणा बिहीबार गरिने उनले बताए । 

यसैगरी, महासचिव पदमा पनि सत्तागठबन्धननिकट केदारप्रसाद कोइराला दोब्बर मतले अगाडि छन् । निर्वाचन अधिकृत सिटौलाका अनुसार कोइरालाले चार हजार ७०४ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले दुई हजार २९ मत पाएका छन् । कोषाध्यक्षमा पनि सत्तागठबन्धननिकट कानुन व्यवसायीकै अग्रता छ ।जगतबहादुर कार्कीले चार हजार ९४० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी दीपक राईले एक हजार ५८१ मत प्राप्त गरेका छन् । बारको निर्वाचनमा नौ हजार ९९७ मतदाता रहेकोमा सात हजार ९९५ मत खसेको थियो । 

कुल मतदाता : ९९९७
खसेको मत : ७९९५
गन्न बाँकी मत : ५६०