मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
Invalid date format १५:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवल उवासंघको परिषद् सभा : भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएकोमा चिन्ता व्यक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३१:oo

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएकोमा चिन्ता व्यक्त गरिएको छ । बुटवल उवासंघको कार्यक्रममा व्यवसायीहरूले यस क्षेत्रको आर्थिक गतिविधि बढाउन अन्तर्राष्ट्रिय उडान महत्त्वपूर्ण हुने भन्दै उडानका लागि पहल हुनुपर्ने बताए । अर्थतन्त्र चलायमान हुने खालको वातावरण बन्नुपर्नेमा उद्योगी–व्यवसायीहरूले जोड पनि दिए । 

कार्यक्रममा बाेल्दै नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकावटले यस क्षेत्रका उद्योगी व्यवसायीलाई चिन्तित बनाएको बताए । निर्माण पूरा भएको लामो प्रतीक्षापछि सञ्चालनमा आउँदा उत्साह थपिएको, तर अहिले अन्तर्राष्ट्रिय उडान रोकिँदा यस क्षेत्रका उद्योगी–व्यवसायीलाई गम्भीर र चिन्तित बनाउनुका साथै निराशा पैदा गराएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ३१औँ परिषद् सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले यस्ता गतिविधिले यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा गिरावट आउने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बुटवल उवासंघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघको पहलकै कारण बैंकको ब्याजदर घटेको दाबी गरे ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले यो वर्ष गरेका कार्यक्रम तथा पहल र पैरवीबारे जानकारी गराएका थिए । उनले ती कामकोे समीक्षा गर्न र भावी कार्यक्रम तय गर्नका लागि सुझाव, सल्लाह दिन परिषद्का सदस्यहरू वस्तुगत समितिका सभापतिहरूलाई आग्रह गरे । 

त्यस अवसरमा संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, पूर्वसचिव कृष्णकुमार श्रेष्ठ, कृषि परामर्शदाता डा. प्रदीप शर्मालगायतले संघले गर्ने कार्यक्रमसँगै परिणामको पनि खोजी गर्नुपर्ने बताए । 

कार्यक्रममा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन गरिएको छ भने क्यालेन्डर प्रकाशनमा सहयोग गर्ने सहयोगी हातहरूलाई सम्मान गरिएको क्यालेन्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य काशीराम पौडेलले जानकारी गराए ।