१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format १९:१८:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१८:oo

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल– ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा सुरु गर्न निर्देशन दिए।

उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए। अरू वडाहरूमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरू सञ्चालनमा छन्। योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन्।

उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, पाँचवटा वडामा ल्याबसहितका सहरी स्वास्थ्य केन्द्र तथा मोतीपुर स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनमा रहेको बताए।

छिटै नै वडा नम्बर १३ मा फिजियोथेरापी सेवा, १७ मा अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालन हुने उनको भनाइ छ। यस्तै, दुई स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा रहेको उनले बताए। प्रमुख पाण्डेयका अनुसार वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्रमा ल्याबसहितको सेवा सञ्चालनमा छ।

‘ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तर्गत घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने र गर्भवती महिलाहरूको स्वास्थ्य जाँच, पाठेघर र स्तन क्यान्सर परीक्षण शिविरहरू सञ्चालन गर्ने कार्यक्रम पनि नियमित भइरहेका छन्,’ उनले भने, ‘आम्दा अस्पताललाई पनि थप सुधार गर्दै स्तरीय सेवा दिन लागिरहेका छौँ।’

वडा तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरेपछि वडावासीलाई सहज हुने वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीले बताए। सबै वडाहरूलाई स्तरीय सेवा प्रदान गर्ने गरी स्वास्थ्य केन्द्रहरू सञ्चालन भएको र सबै वडाबाट सहज रूपमा सेवा लिन सकिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए। सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र अन्य सेवाहरूलाई स्तरीय बनाउन पर्याप्त जनशक्ति खटिएको उनको भनाइ छ।