
माथिल्लो तामाकोसी आयोजनामा कार्यरत दोलखाबासी कर्मचारी र आयोजना व्यवस्थापनबिच सुविधा समान गर्ने सहमति भएको छ ।
आयोजनामा कार्यरत कर्मचारीहरूमध्ये दोलखाबासी र बाहिरी जिल्लाका कर्मचारीलाई दिइने अतिरिक्त सुविधामा विभेद भएको भन्दै जिल्लाबासी कर्मचारीले सुरु गरेकाे आन्दोलन बुधबारको सहमतिपछि टुंगिएको हो ।
माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले यसअघि आयोजनामा कार्यरत कर्मचारीहरूमध्ये दोलखाबासी कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीहरूलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएकोमा जिल्लाबासी कर्मचारीले विभेद गरेको भन्दै चार दिनदेखि आन्दोलन गरिरहेका थिए ।
बुधबारको वार्तामा आयोजनामा कार्यरत सबै कर्मचारीलाई समान अर्थात ७५ प्रतिशत अतिरिक्त सुविधा दिन आयोजना व्यवस्थापन तयार भएपछि लिखित सहमति भएको संघर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए । खड्काले गत फागुन देखिकै सुविधा चैत महिनाको पारिश्रमिकसँगै उपलब्ध गराउने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको बताए ।
सहमति पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमसहित मनोज ताम्राकार, पूर्णगोपाल रन्जित , अनिता बजगाई र मित्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् भने जिल्लाबासी करार कर्मचारी संघर्ष समितिका संयोजक रामबहादुर खड्कासहित कर्मचारीहरूको तर्फबाट सातजनाले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा आयोजनामा कार्यरत चारजना करार कर्मचारीलाई साताको ४ दिनमात्रै काम लगाउँदै आएकोमा अब भने महिनाको ३० दिन काम लगाउने, करार कर्मचारीलाई करारनामाको व्यवस्था गरिने, विषयगत दक्षता एकातिर भई अर्कै समुहमा काम गरिरहेका कर्मचारीलाई सम्बन्धित समूहमा राखेर सेवा प्रदान गर्न लगाउने जस्ता विषय उल्लेख छन् ।
यसअघि असोजमा पनि आन्दोलनमा उत्रिएका कर्मचारीका उल्लेखित मागहरू माघ ०८१ भित्र कार्यान्वयन गर्ने सहमति भए पनि सम्झौतामा उल्लेख अवधि पूरा भई दुई महिना बितिसक्दा समेत आयोजनाले मागबारे कुनै निकास ननिकालेको कर्मचारीहरू आन्दोलनमा थिए । कम्पनीमा कार्यरत २२३ जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना छन् ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ । आयोजनामा गत ११ असोजको बाढि पहिरोले ठूलो क्षेति गरेको थियो । पहिरोले आयोजनाको बाँधस्थलमा रहेको नियन्त्रण कक्ष पुरिँदा चारजनाको ज्यान गएको थियो भने करोडौंको क्षेति भएको थियो ।