
पूर्वराजाले कहिले तुलसी गिरी त कहिले नवराज सुवेदीलाई विश्वास गर्नुको कारण के हुन सक्छ ?
तत्कालीन राजा महेन्द्रले शासन सत्ता सञ्चालनमा कसलाई विश्वास गर्ने, कसलाई नगर्ने भन्नेबारे लेखेरै छाडेका थिए र उनले विगतमा जजसमाथि विश्वास गरेका थिए, पूर्वराजा ज्ञानेन्द्रले पनि तिनैलाई बढी विश्वास गरेका हुन् भन्ने चर्चा नेपाली राजनीतिमा चल्ने गरेको सुनिन्छ । यो सत्य या असत्य जे भए पनि पूर्वराजासित फराकिलो विकल्प छैन । उनले राजनीति गर्दागर्दा थाकेका ज्येष्ठ नागरिक उमेरका पुरानै नेतालाई अघि नसारी धर छैन । नयाँ र युवासित उनको खासै उठबस र विश्वास दुवै छैन ।
निर्मल निवासले सुवेदीको नाम अघि सारेपछि राजावादीमा त खैलाबैला मच्चिँदै छ नि ?
यो सब केही गरी राजालाई पुनस्र्थापित गराउने अभियान सफल भइहाल्यो भने कसले जस लिने भन्ने दौड हो । हुन त यहाँ कसले कसलाई जस दिने हो, त्यो नै पत्तो छैन । राप्रपाभित्रै पनि अध्यक्ष राजेन्द्र लिङ्देन एकातिर र महामन्त्री धवलशमशेर राणा एवं नेता प्रकाशचन्द्र लोहनी अर्कातिर देखिन्छन् । त्यसैले, राणा र लोहनी राजाले अघि सारेका सुवेदीलाई नेता मानेर अघि बढ्न तयार देखिन्छन् । उता राप्रपा नेपाल र दुर्गा प्रसाईंहरूको पनि त्यही जस लिन पाइन्छ कि भन्ने दाउ मात्र हो ।
राजावादीहरू सुवेदीको नेतृत्वमा गोलबद्ध हुन सक्ने सम्भावना कति देखिन्छ ?
अहिले राजालाई बोक्न तयार अनुचरहरूको भिड माथिबाट जे आदेश आउँछ, त्यसैको पछि लाग्छ । सुरुमा अलिअलि आनाकानी गरेजस्तो देखिए पनि माथिबाट सिट्ठी फुकेपछि सुवेदीको नेतृत्वमा गोलबद्ध हुन दौडिनुको विकल्प उनीहरूसित हुँदैन । तर, अहिले पूर्वराजाले जसलाई अघि सारेका छन्, तिनको नेतृत्वमा यो अभियान धेरै अगाडि जाला या यसले परिणाम देला जस्तो देखिन्न ।