
सांसद तारा लामा तामाङले प्रहरीले काठमाडौंमा थालेकाे लागुऔषधविरुद्धकाे अभियान देशभर सुरु गर्न सभामुखसँग रुलिङकाे माग गरेका छन्।
प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा शून्य समयमा बाेल्दै सांसद तामाङले लागुऔषधले समाजलाई खोक्रो बनाउँदै लगेकाले याे अभियान तीनवटै तहका सरकार र सरोकारवाला सबै मिलेर प्रत्येक जिल्ला, पालिका, टोल, विद्यालय र क्याम्पससम्म सञ्चालन गर्नुपर्ने बताए।
‘लागुओैषध नियन्त्रण र लागुऔषध अपराध नियन्त्रणका लागि कठोर तथा ठोस नीति अवलम्बन गर्नुपर्ने देखिन्छ, तसर्थ तत्काल सम्माननीय सभामुखज्यूमार्फत गृह मन्त्रालय र सरकारलाई रुलिङ गर्न आग्रह गर्छु,’ उनले भने।
कञ्चनपुरबाट निर्वाचित भएका एमाले सांसद लामाले सीमासँग जोडिएको कञ्चनपुरमा लागुऔषध मुख्य चुनौती बनेको बताए। उनले चालू आवको आठ महिनामा मात्र ९९ मुद्दा चलेकाे र १५७ जना पक्राउ परेकाे तथ्यांक पनि प्रस्तुत गरे। ‘२२ किलो चरेस, २७६ ग्राम ब्राउनसुगर र अन्य थुप्रै ड्रग्स बरामद भएको छ। कञ्चनपुर कारागारमा रहेका कैदीमध्ये ४५ प्रतिशत लागुऔषधका छन्,’ उनले भने।
काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले यही फागुन १७ गतेदेखि लागुऔषधविरुद्धको अभियान सुरु गरेको थियाे।