
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाका चार उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेको छ भने दुई संस्थालाई प्रविधि हस्तान्तरण गरेको छ।
अर्याल पशुपन्छी फर्म धुर्कोट गाउँपालिका–६ का मेघलाल अर्याल, खनाल मौरी तथा सुन्तला फर्म धुर्कोट गाउँपालिका–२ की तारा खनाल, खनाल सुन्तला फर्म धुर्कोट सुन्तला फर्म धुर्कोट–२ का केशौराज खनाल र सिद्धि विनायक कृषि तथा पशुपक्षी फर्म छत्रकोट गाउँपालिका–५ का डालप्रसाद पन्थीलाई नगद २५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको कार्यालयका सूचना अधिकारी जीवन घिमिरेले जानकारी दिए।
कार्यालयमा आवेदन दिएकामध्येबाट चारजनालाई छनोट गरेर सम्मान गरिएको हो। त्यस्तै, विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले दुई संस्थालाई प्रविधि हस्तान्तरण गरेको छ। कार्यालयले इस्मा गाउँपालिका–३, दर्लामचौरको इस्मा रामकोट स्लेट ढुंगा उद्यमी समूहलाई ढुंगा काट्ने मेसिन र जिल्ला सहकारी संघद्वारा सञ्चालित गुल्मी अर्गानिक कफी उद्योगलाई डिजिटल काँटा र परपल मेसिन प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले जानकारी दिए। उनका अनुसार कार्यालयले यसअघि नै मुसिकोटमा कफीजन्य उत्पादन तालिम, मालिकामा मोटरसाइकल मर्मत मेकानिक तालिम, रुरु र छत्रकोटमा उखुजन्य उत्पादन गरिसकेको छ। त्यस्तै, सोही अवसरमा रेसुंगा नगरपालिका–६ मा सञ्चालित उद्यमशीलता तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
प्रमुख अतिथि लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उत्कृष्ट उद्यमीलाई सम्मान, संस्थालाई प्रविधि हस्तान्तरण तथा तालिमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे। उनले स्वदेशमै उत्पादन र आशा जगाउन सबैलाई आग्रह गरे। आफ्नै माटोमा समृद्धि सम्भव भएकाले भएका उपलब्धिको रक्षा र भावी सपना पूरा गर्न अहिलेकै व्यावस्था र अवस्थालाई बलियो बनाएर अघि बढ्न आवश्यक भएको बताए।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले उपभोक्ता आफैँ सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले सरकारका तर्फबाट उपभोक्ताको क्षेत्रमा गर्नुपर्ने कामहरू प्राप्त नभएकाले उपभोक्ता स्वयं सचेत नभएसम्म बजारमा सुधार गर्न नसकिने बताए। कार्यक्रममा जिल्ला सहकारी संघ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायतका संघसंस्थाले आफ्नो धारणा राखेका थिए। इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले उपभोक्ता अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।