
एउटा बालक सहरको भव्य भवनको घन्टी बजाइरहेको थियो । घरधनी महिलाले ढोका खोलेपछि बालकले हात जोड्दै भन्यो– अन्टी, म तपाईंको बगैँचा सफा गरिदिऊँ ? घरधनी महिलाले भनिन्– अहँ पर्दैन, हामी आफैँ सफा गर्छौं । बालकले हात जोडेरै भन्यो– प्लिज अन्टी, म निकै राम्रोसँग सफा गर्छु, सफा गर्ने अनुमति दिनुहोस् न !
बालकको कुरा सुनेर मनमा दया पलाएपछि उनले सोधिन्– ठीक छ, तिमी सफा गर्न सक्छौ । तर, कति पैसा लिन्छौ नि ? बालकले भन्यो– मलाई पैसा चाहिँदैन, खाना दिनुभए हुन्छ । महिलालाई बालक निकै भोको रहेछ भन्ने लाग्यो । उनी किचनमा गइन् र उसका लागि खाना ल्याइदिइन् र भनिन्– ल बाबु, तिमी पहिला खाना खाऊ अनि काम गर । बालकले जवाफ दियो– पर्दैन अन्टी, पहिले म काम नै पूरा गर्छु । करिब एक घण्टामा बालकले काम सिध्याएर महिलालाई काम देखायो । काम देखेर उनी निकै खुसी भइन् । उनले बालकलाई खाना ल्याइदिइन् । तर, बालकले खाना खानुको साटो झोलामा खन्याएर पोको पार्यो । त्यो देखेपछि ती महिलाले उसलाई त्यसको कारण सोधिन् । बालकले जवाफ दियो– घरमा आमा निकै बिरामी हुनुहुन्छ । औषधि त सरकारी अस्पतालबाट निःशुल्क पाइयो । तर, औषधि खाली पेटमा खान मिल्दैन ।
बालकको कुरा सुनेपछि महिलाका आँखा रसाए । उनले आफ्नै हातले बालकलाई खाना खुवाइन् । उसकी आमाका लागि तात्तातो खाना तयार गरेर बालकसँगै उसको घर गइन् । बालककी आमासित भेटेर भनिन्– बहिनी तपाईंले आफ्नो सन्तानलाई जुन अमूल्य संस्कार दिनुभएको छ, त्यो हामीले आफ्ना सन्तानलाई दिन कहिल्यै सकेनौँ । तपाईं धन्य हुनुहुन्छ ।