सिराहाको गोलबजार नगरपालिका–२, लालपुरकी ६६ वर्षीया रेवियादेवी सदा नागरिकताको लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय महिनौ दौडधुप गरिन् । तीन महिनाको दौडधुपपछि नागरिकता पाए पनि उनी फुरुंग छिन् । नागरिकता पाएसँगै वृद्धभत्ता पाउने बाटो खुलेको छ ।
‘बुढ्यौलीमा नागरिकता पाए पनि कम्तीमा वृद्धभत्ता खाने बाटो खुलेकोमा खुसी छु । श्रीमानकाे मृत्यु वर्षौँ पहिला भइसक्यो । नागरिकताको सिफारिस लिन वडा र जिल्ला प्रशासन कार्यालय एक्लै धाउँदा धाउँदा गलिसकेकी थिएँ,’ उनले भनिन्, ‘कहिले यो मिलेन, कहिले त्यो मिलेन भन्दाभन्दै तीन महिना लाग्यो ।’
नागरिकता लिएर अब वृद्धभत्ताका लागि अब वडा कार्यालयमा आवेदन दिने उनले बताइन् । आफूले नागरिकता पाएपछि नातिनातिना भइसकेको कान्छो छोराको पनि नागरिकता बनाउन जाने योजना उनले सुनाइन् । नागरिकताका लागि वडा कार्यालयसहित जिल्ला प्रशासन कार्यालय ओहोरदोहर गर्न स्थानीय दलित महिला केन्द्र नेपालले खर्च व्यवस्थापन गरिदिएको उनले बताइन् । ‘मजदुरी गरेर पेट पाल्नुपर्ने हामीजस्ताले निःशुल्क पाइने नागरिकता बनाउन जिल्ला प्रशासन ओहोरदोहोर गर्न बसभाडाको पनि समस्या झेल्नुपर्छ,’ उनले भनिन्, ‘संस्थाले त्यति सहयोग गरिदिँदा पनि धेरै राहत भयो ।’
भाडा र खाजा खर्चमा नगरको सहयोग
गोलबजार नगरनमुख श्यामकुमार श्रेष्ठले नगर क्षेत्रमा आर्थिक रूपले विपन्न रहेका दलितहरूको नागरिकता बनाउन आर्थिकसहित कागजी प्रमाण जुटाउन समस्या रहेको बताए । ‘नागरिकता बनाउन आवश्यक कागजात जुटाएका व्यक्तिहरूलाई पनि जिल्ला प्रशासन कार्यालयसम्म पुग्न आर्थिक समस्या छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिको हकमा नगरपालिकाले कम्तीमा बसभाडा र खाजाको लागि सघाउँछौँ।’
नगर क्षेत्रमा अहिले पनि करिब तीन सयजनाको तीनपुस्ते प्रमाण नपुगेर नागरिकता बन्न नसकेको उनले बताए। उनले भने, ‘वर्षौँदेखि नगरको विभिन्न ठाउँमा बसोबास गर्दै आएका, तर प्रमाण नभएका व्यक्तिका लागि स्थानीय समाज, जनप्रतिनिधिहरूले प्रक्रिया पुर्याई सनाखत बसेर भए पनि नागरिकता बनाइदिन सघाउनुपर्छ।’
व्यक्ति व्यक्तिलाई नागरिकता बनाउन ल्याउन लैजानुभन्दा जिल्ला प्रशासनसँग समन्वय गरी स्थानीयस्तरमा कागजात संकलन गरी नागरिकता बनाउन पहल गरिनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि पनि नगरपालिकाले प्रयास गरिरहेको जानकारी दिए।