मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २२ सोमबार २१:३९:oo
Read Time : > 2 मिनेट
अर्थ

खुम्बु क्षेत्रमा व्यवसायिक हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्ध फुकुवा

कमर्सियल हेलिकोप्टर उडान गर्न नदिने खुम्बु पासाङ ल्हामु गाउँपालिका र स्थानीयकाे अडान भने यथावत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार २१:३९:oo

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा व्यवसायिक प्रयोजनमा हेलिकोप्टर उडान गर्न नदिने निर्णय फिर्ता लिएको छ । सोमबार विज्ञप्ती जारी गर्दै कार्यालयले निकुञ्जको अनुमति लिएर प्रचलित कानूनबमोजिम सुरक्षित तवरले हेलिकोप्टर उडान गर्न सबै हेलिकोप्टर कम्पनीलाई अनुरोध गरेको छ ।

यसअघि निकुञ्ज कार्यालयले निकुञ्ज क्षेत्रमा अत्यधिक मात्रामा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौति थपिएको भन्दै १ जनवरीदेखि व्यवसायिक रुपमा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको थियो । नाम्चेभन्दा माथिल्लो भेगमा व्यवसायिक हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउनका लागि निकुञ्ज कार्यालयलाई खुम्बु पासाङ ल्हामु गाउँपालिका, स्थानीय युवा समूह, युवा क्लब, टोलविकास समिति तथा संघसंस्थाहरुले अनुरोध गर्दै आएका थिए ।

निकुञ्ज कार्यालय आफ्नो निर्णयबाट पछाडि हटे पनि खुम्बु पासाङ ल्हामु गाउँपालिका र स्थानीय (युवा क्लव, उपभोक्ता समिति, टोल विकास समिति)ले निर्णय फिर्ता नलिएको मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका एक सदस्यले बताए । ती सदस्यले भने, ‘सरकार र राजनीतिक दबाबले निकुञ्ज आफ्नो निर्णयबाट पछाडि हटेको हो, गाउँपालिकासहित स्थानीय कमर्सियल उडान गर्न नदिने अडानमै छौँ ।’ जीवजन्तुको सुरक्षा र पर्यावरण जोगाउनकै लागि यो पहलकदमी उठाएको उनको जिकिर छ ।

अघिल्लो महिना निकुञ्ज कार्यालयले १ जनवरीदेखि कमर्सियल प्रयोजनमा हेलिकोप्टर उडानमा रोक लगाउने निर्णय गरेपछि स्थानीय युवा क्लब तथा संघसंस्थाहरुले हेलिप्याडमा झण्डा गाडेर उडानमा अवरोध सिर्जना गर्दै आएका छन् । हेलिकोप्टरलाई रेस्क्यू, कार्गो र माउन्टेन फ्लाइट बाहेकका कर्सियल उडान गर्न नदिने निर्णय भएको स्थानीय अगुवाहरुको भनाई छ ।

स्थानीय युवा क्लव तथा संघसंस्थाहरुले हेलिप्याडमा झण्डा गाडेर कमर्सियल उडान गर्ने हेलिकोप्टर नियन्त्रणमा लिएर पाइलटलाई पैदल पठाउने चेतावनी दिएपछि आइतबार वायुसेवा सञ्चालक संघ, नेपालले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म खुम्बु क्षेत्रमा हेलिकोप्टरबाट कुनै पनि प्रकारको उडान नगर्ने निर्णय गरेको थियाे । 

हेलिकोप्टर व्यवसायीहरु उडान नै रोकेर आन्दोलित भएपछि सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै हेलिकोप्टर उडानमा अवरोध गर्ने सबैलाई कारबाही गर्ने चेतावनी दिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘नियमअनुसार सञ्चालित हेलिकोप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्दार, पर्यटन प्रवद्र्धनलगायतमा समस्या भएको जनगुनासो प्राप्त भएकोले बधा अवरोध गर्ने गराउनेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने छ।’

यसअघि हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको सम्बन्धमा निकुञ्ज र पालिकाका पदाधिकारी, स्थानीय युवा क्लब, उपभोक्ता समिति, टोलविकास समिति, विभिन्न संघसंस्थाका प्रतिनिधि र वायुसेवा सञ्चालक संघका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि निर्क्याेल निस्किएको थिएन् । निकुञ्जले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरे पनि स्थानीयहरुले अझै अवरोध सिर्जना कायम राखेको हुनाले नियमित उडान गर्न सक्ने स्थिति नरहेको वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले बताए । ‘सोमबार साँझ निकुञ्जले नियमित उडान जारी राख्न अनुरोध गरेको छ, सोलुखुम्बु जिल्ला प्रशासनले पनि उडान अवतरणमा अवरोध गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ,’ उनले भने, ‘तै पनि सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म नियमित उडान गर्न सक्दैनौं, स्थानीयहरुले अवरोध कायमै राखेका छन् ।’

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले साेमबार साँझसम्म हेलिकाेप्टर उडान गर्न अनुमति  दिने विषयमा कुनै निर्णय गरेकाे छैन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत भुषालले भने,  ' निकुञ्जकाे विज्ञप्ती साँझ मात्रै आयाे । आज नै निर्णय गर्ने अवस्था रहेन्। याे अलि जटिल विषय पनि छ । स्थानीयहरुसँगकाे छलफलपछि गाउँपालिकाले आवश्यक निर्णय गर्नेछ ।'   

निकुञ्ज कार्यालयले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस निकुञ्जभित्र रहेका सर्वोच्च शिखर सगरमाथालगायत हिमाल, तालतलैया तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकलाई सो स्थानको दृश्यावलोकन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्दार गर्न, विकास निर्माणका सामाग्री, खाद्यसामाग्री तथा अन्य सामाग्री ढुवानी गर्न लगायतका कार्यका लािग सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकोप्टर कम्पनीहरुलाई निकुञ्जको बन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको वाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजश्व बुझाई प्रचलित कानुन अनुसार सुरक्षित तबरले हेलिकोप्टर उडान÷अवतरण÷होभरिङ् गर्न गराउन सबै हेलिकोप्टर कम्पनीलाई अनुरोध छ ।’